गरीबहरुको माझमा गायक पोखरेल l आर्थिक सहयोग गर्दै जन्मोत्सव र एल्बम बिमोचन l

दलित बस्तीका बालबालिकाहरूमाझ आफ्नो जन्मदिन मनाउँदै केहीदिन अघि गायक सीताराम पोखरेलले आफ्नो सातौँ गीति एल्बम ‘अल्कोहोलिक लभ’ को बिमोचन गरेका छन् । विराटनगर महानगरपलिका – १६ दरैयास्थित ऋषिदेव बस्तीका बालबालिकाहरूमाझ केक काटेर आफ्नो जन्मदिन मनाउँदै उनले सातौँ गीति एल्बम बिमोचन गरेका हुन् ।

दरैया बस्तीको ऋषिदेव बस्तीमा रहेको बालकेन्द्र भवनमा सम्पन्न सो बिमोचन कार्यक्रममा ७५ वर्षीय बलदेव ऋषिदेवलाई प्रमुख अतिथि बनाईएको थियो भने छोटो कार्यक्रमको आयोजना गरी उनले केक काटेर आफ्नो जन्मदिन मनाएका थिए । जन्मदिन र एल्बम विमोचनको औपचारिक कार्यक्रम सकिएपछि बालबालिकाहरूलाई केक, चकलेट र कापीकलम वितरण गरेका पोखरेलले सो बालकेन्द्रमा बिजुली बत्तीका लागि वायरिङ गरिदिने समेत घोषणा गरे ।
परोपकारको भावनाले गरिब बस्तीमा गएर जन्मदिन मनाउँदै एल्बम समेत बिमोचन गरी बालकेन्द्रलाई सहयोग गरेकोमा विराटनगर महानगरका १६ नम्बर वडा अध्यक्ष मनोज सुब्बा, गायक रामानन्द मण्डल, हास्यकलाकार पारस थापा र बालकेन्द्रका स्वयंसेवक राजु क्षेत्री लगायतले गायक पोखरेललाई धन्यवाद दिएका छन् । बिमोचित एल्बम ‘अल्कोहोलिक लभ’ मा ६ वटा गीत रहेका छन् भने २ वटा गीतको भिडियो समेत निर्माण भईसकेको छ ।

समारोहमा आफ्ना कुराहरु राख्दै गायक पोखरेलले कमसेकम वर्षमा एकदिन सकेको समाजसेवा गर्नुपर्छ भन्ने उद्देश्य लिएर १५ वर्षदेखि आफूले निरन्तर गरिब र असाहयहरूमाझ जन्मदिन मनाउँदै आएको कुरा बताएका थिए ।  ‘सबै कलाकारहरूले वर्षमा एकदिन समाजसेवामा योगदान दिन सके समाजको शैक्षिक स्तरबृद्धि र गरिबी निवारण गर्न थोरै भएपनि सहयोग पुग्छ’ उनले भने ।
नेपाल – भारत सिमा क्षेत्रमा रहेको उक्त ऋषिदेव बस्तीमा ४० घरपरिवार भूमीहिन बसोवास गर्छन् । उनीहरू सबै मजदूरी गरेर जीविका चलाउँछन् । यो बस्तीमा कक्षा ४ भन्दा धेरै पढ्ने कोही बालबालिकाहरू छैनन् । यसैले यहाँ लायन्स क्लबले निर्माण गरिदिएको बालकेन्द्रमा अपाङ्गता भएका स्थानीय व्यक्ति राजु क्षेत्रीले निःशुल्क पढाउँदै आएका छन् ।

Video Link

SUBSCRIBE 👉
SUBSCRIBE 👉