लोकगीतको मूलबाटोमा एउटा यात्री : खगेन्द्र यक्शो

   – यादव कुमार भट्टराई 

खासगरी पूर्वेली लोकभाकामा धेरैका आदर्श अनि प्रेरक सर्जक – कलाकार खगेन्द्र यक्सोले भरखरै आफ्नो नयाँ गीत ‘मूलबाटोमा’ को भिडियो सार्वजनिक गरेका छन् । हुन त उनको परिचय लोकभाकामा मात्र सीमित छैन । आधुनिक सङ्गीतमा समेत उनको सिर्जनशीलता र लोकप्रियताको गर्विलो उचाई बनिसकेको छ । तथापि आजको सन्दर्भ लोकगीत भएकोले यहाँ लोक सङ्गीतको पाटोमा मात्र चर्चा गर्ने जमर्को गरिएको छ ।

गुराँसको राजाधानी मानिएको तेह्रथुम, ताप्लेजुङ् र सङ्खुवासभाको सङ्गम स्थल तीनजुरे, मिल्के, मिल्के गुफा चौकी तिरको अत्यन्तै रमणीय पर्यटकीय स्थलमा छायाङ्कन गरिएको यो गीत पूर्वको लोकप्रिय पालाम भाकामा तयार पारिएको छ । यो गीत २०६८ सालतिर तमोर खोलाको यात्राका क्रममा सङ्कलन गरिएको कुरा खगेन्द्रले बताए । प्रशस्तै समय र लगानी  गरी मेहेनत गरिएको यो गीतको शब्दले ताप्लेजुङको तमोर खोलाको मुन्धुमी साँस्कृतिक र सामाजिक पक्षलाई कलात्मक ढङ्गले प्रस्तुत गरेको छ । ‘भिडियोको मूल आशय भनेको पर्यटन प्रबर्धन नै हो । प्राकृतिक सौन्दर्य लगायत तेह्रथुमकै लालिगुराँस नगरपालिकामा नव निर्मित याक्थुङ लिम्बू जातिको मुन्धुमी धार्मिक – ऐतिहासिक  महत्वको चो लुङ पार्कको सुन्दरतालाई समेत भिडियोमा कैद गरिएकोले यो म्युजिक भिडियोको बेग्लै महत्व छ’ गीतका सङ्कलक – गायक खगेन्द्र यक्सो भन्छन् ।
मेघराज मगरातीले खिचेको यो भिडियोमा दीप केरुङ र याम निङ्वा मुख्य भूमिकामा देखिएका छन् भने खगेन्द्र यक्सो आँफैले निर्देशन सम्हालेका छन् । युट्युब च्यानल ‘युमा आर्ट्स’ मा हेर्न सकिने यो म्युजिक भिडियोमा थानाहाङ लिम्बू, नर्वदा लिम्बू, दिलिप फुरुम्बो, दिलु याक्खा लागायतका कलाकारहरुलाई समेत देख्न सकिन्छ । वनभोज जाँदा समूहका साथी सङ्गी मिलेर धान नाचेको कथालाई बुनेर भिडियो तयार पारिएको छ ।  खगेन्द्र यक्सोको शव्द तथा सङ्गीत रहेको यो गीतको म्युजिक एरेन्ज टेकेन्द्र यक्सोले गरेका हुन् भने खगेन्द्र यक्सो र डेनी इम्सोङले स्वर दिएका छन् ।

‘३४/३५ सालदेखि पालाम, हाकपारे र सङ्गिनीको माधुर्यताको रस पान गर्न थालें । ४४/४५ मा आफैं लय पछ्याउन थालें । अनि ५४/५५ मा औपचारिक यात्रा सुरु भयो गीति एल्बम ‘धुलो लाग्छ कि’ बाट’ खगेन्द्रले आफ्नो सङ्गीतसँगको साइनो र यात्राबारे प्रष्ट पारे । ‘२०६० देखि यूमा आर्ट्स नामक म्युजिक कम्पनी खोलेर आज ७५/७६ सम्म आईपुग्दा यथार्थमा उनी स्वयम् र उनका गीत – सङ्गीतहरु मूलबाटो सावित भएका छन् । शव्द सङ्कलनमा मौलिकता र यात्रा विशेषका साँस्कृतिक र प्राकृतिक सौन्दर्यलाई कलात्मक ढङ्गले सिंगार्न मन पराउने यक्शोले कथेका लय – शब्द पूर्वेली गीत – सङ्गीतमा अब्बल मानिन्छन् । उनी जताजता घुम्छन् शब्द बोकेर फर्कन्छन् । उदाहरणका लागि ‘चुङ्वा दोभान’, ‘माघेनी मेला’, ‘खरङ्वा खोला’,  ‘भन्ज्याङ चौतारी’, ‘मूलबाटे कान्छा’ जस्ता अनेकौं लोकप्रिय गीतको नाम लिन सकिन्छ । मेलोडी किङ, अर्ग्यानिक गायक जस्ता उपनामबाट समेत चिनिने खगेन्द्रका गीत – सङ्गीत पछ्याएर  देश – विदेशका प्रोग्रामहरुमा मनग्गे आम्दामी गर्ने र उनलाई आफ्नो आदर्श र प्रेरक व्यक्ति मान्ने गायक – गायिकाहरु पनि प्रशस्तै छन् ।  ।

खगेन्द्र काल्पनिक भन्दा पनि सामाजिक, यथार्थपरक एवं ठेट र मौलिक शब्दहरुमा कलात्मक रङ्ग भरेर प्रस्तुत गर्न माहिर मानिन्छन् । सँगैका चलेका दौंतरी गायकहरु कता छन् ! तर उनको गति र लय तीन दशकदेखि अविरल बगिरहेको छ । उनले कोरेका गोरेटोहरु सडक भएका छन् । उनले रोपेका साङ्गीतिक बिरुवाहरु विशाल वृक्ष बनेका छन् । जसको उर्जाशील शितलताले नयाँ पिंढीलाई गन्तव्यमा पुग्नका लागि ताजगी दिँदै आएको छ । उनी नयाँ पुस्ताका लागि मूलबाटो बनेका छन् l

Video Link