‘मायाको नाकाबन्दी’ मा गीतकार आचार्य प्रभा

    – तुलसी गिरी ‘भावुक’

आचार्य प्रभाले आफ्नो रचनाको छैटौं कृति ‘मायाको नाकाबन्दी’  गीतसङ्ग्रह प्रकाशन गरेकी छिन् l गीतकार सङ्घ नेपालको आयोजनामा केहीदिन अघि काठमाण्डौको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको सभाहलमा आयोजित समारोहमा उनको सो कृति लोकार्पण गरिएको हो l समारोहका सभापति गीतकार सङ्घ नेपालका अध्यक्ष चूडामणि देवकोटा, प्रमुख अतिथि अग्रज गीतकार रत्नसम्शेर थापा, वरिष्ठ कवि तथा साहित्यकारहरु राजेन्द्र थापा, दिनेश अधिकारी, माया ठकुरी, घनश्याम न्यौपाने र प्रकाश सायमीले पुस्तकको संयुक्त रुपमा लोकार्पण गरेका थिए l १ सय ४ पृष्ठको यस पुस्तकमा विविध भावका ८२ वटा गीत सङ्ग्रह गरिएका छन् l
प्रकाशित कूल कृतिको हिसाबले यो आचार्य प्रभाको छैटौं कृति भएपनि पुस्तकका रुपमा भने यो उनको तेस्रो कृति हो l यसअघि उनको ‘परदेशबाट’ { कवितासङ्ग्रह – २०६२ } र ‘असह्य चीत्कार’ { गजलसङ्ग्रह – २०६९ } नामका पुस्तक प्रकाशन भएका छन् l यसैगरी साहियका लगभग एक दर्जन विधामा कलम चलाउँदै आएकी प्रभाका ‘तिम्रो पर्खाईमा’ र ‘ड्रिम्स’ { गीति एल्बम – २०५१ } साथै ‘ईश्वर वन्दना’ { भजन अडियो एल्बम – २०५५ } समेत प्रकाशन भएका छन् l

बि.स. २०१९, असार २४ गते भारतको दार्जेलिङमा जन्मिएकी प्रभाको स्थाई ठेगाना झापाको दमक भएपनि हाल उनी अमेरिका बस्दै आएकी छिन् l नेपाली विषय लिएर स्नातकोत्तर सम्मको अध्ययन पूरा गरेकी उनले २०३४ सालबाट औपचारिक रुपमा लेखन यात्रा आरम्भ गरेकी थिईन् l नेपालमा रहँदा धेरै पत्र पत्रिकाहरुमा स्तम्भकारका रुपमा समेत सक्रिय प्रभाका फुटकर रुपमा दैनिक, साप्ताहिक, पाक्षिक, मासिक लगायतका पत्रिकाहरुमा कविता, गीत, गजल, कथा आदि विधाका साहित्यिक रचनाहरु नियमित प्रकाशन हुने गरेका थिए l  एक सशक्त महिला हस्ताक्षरका रुपमा परिचित प्रभाले कविता, गीत, कथा, लघुकथा, नाटक, गीतिकथा, गजल, भजन, गेडी, हाइकु, सेन्यु, मुक्तक, रुवाई आदि विधामा कलम चलाउँदै आएकी छिन् l उनी बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साहित्यिक संस्थाहरुमा समेत आवद्ध रहेकी छिन् l ‘माया स्वतन्त्र रुपमा गर्न पाइँदैन l जात, धर्म, ईज्जत अनेक अनेक बहानामा समाज र परिवारले नाकाबन्दी लगाईरहेका हुन्छन् l पहिलाको तुलनामा अहिले केही खुकुलो चाहिं भएको छ l अलिकति वास्तविकता र अलिकति आकर्षणको दृष्टिकोणले पुस्तकको नाम ‘मायाको नाकाबन्दी’ राखिएको हो’ गीतकार आचार्य प्रभाले समारोहमा भनिन् l
विमोचन समारोहमा गीतकार दिनेश अधिकारीले पुस्तकका गीतका बारेमा टिप्पणी गर्ने पक्षमा आफू नभएको धारणा राख्दै हरेक सर्जकले आफैंसँग प्रतिस्पर्धा गर्ने कुरा बताए l ‘यदि मैले यस्तो हुनुपर्थ्यो भन्ने कुरा राखें भने मैले प्रभाको रचनामा दिनेश अधिकारीको दोस्रो संस्करण खोजिरहेको हुने छु l मैले किताब पढेर आनन्द अनुभूत गरें’ वरिष्ठ कवि तथा गीतकार अधिकारीले भने l यसैगरी आचार्य प्रभाको बारेमा बोल्दै  प्रकाश सायमीले भने -‘आचार्य प्रभा रत्नसम्शेर थापा जस्तै लय र ट्रयाकमा गीत लेख्न सक्ने विलक्षण पतिभा हुन् l’ नेपाली साहित्यको क्षेत्रमा महिलाहरुको उपस्थिति न्यून रहेको सन्दर्भ उल्लेख गर्दै साहित्यमा प्रभाको यो उचाईलाई सामान्य रुपमा लिन नसकिने धारणा पनि उनले व्यक्त गरे l समारोहमा सानैमा आफू टुहुरी भएको र आमाबुबाको दायित्व निर्वाह गर्दै कुनै कमी हुन नदिई दिदीहरुले हुर्काएको कुरा बताउँदै गर्दा गीतकार आचार्यले आफ्ना आँशु त रोक्न सकिनन् नै ! त्यो क्षणले एकछिन सभाहल समेत स्तव्ध बनाएको थियो l सभापति चूडामणि देवकोटा, प्रमुख अतिथि रत्नसम्शेर थापा, अग्रज गीतकार राजेन्द्र थापा लगायतका अतिथिहरुले समेत प्रभा र उनका कृतिका बारेमा आ-आफ्ना धारणा राखेका थिए l कार्यक्रम उद्घोषिका कवयित्री सुशीला पौडेलले बीचबीचमा वाचन गरेका रोमान्टिक मुक्तकहरुले समारोहलाई नयाँ ताजगी दिएको थियो l