गीतकार अमर र गायिका सहिमाको २ भिडियो एकैसाथ

  – तुलसी गिरी ‘भावुक’

गीतकार अमर बान्तुको रचना एवं सहिमा श्रेष्ठद्वारा स्वरवद्ध दुई गीतको भिडियो एकैसाथ सार्वजनिक गरिएको छ l गत शनिबार वरिष्ठ गीतकार एस्पी कोईरालाको प्रमुख आतिथ्यमा लाजिम्पाटस्थित होटल शंकरमा आयोजित कार्यक्रममा ‘अमर भावना – २’ नामक गीति एल्बमको विमोचन पश्चात सो एल्बममा समाविष्ट तीजगीत ‘हर हर महादेव’ र आधुनिक गीत ‘तिम्रो शहर’ को भिडियो सार्वजनिक गरिएको हो l एल्बम एस्पी कोईराला, वरिष्ठ गीतकार राजेन्द्र थापा, गीतकार सङ्घका अध्यक्ष चूडामणि देवकोटा लगायतले विमोचन गरेका थिए l 

समारोहमा दुबै गीतको भिडियो समेत प्रदर्शन गरिएको भएपनि तीजगीतको भिडियो ओएसआर डिजिटल नामक युट्युब च्यानलमा अपलोड भईसकेको र अर्को आधुनिक गीत भने केहीदिन पश्चात मात्र अपलोड हुने कुरा जानकारी गराईएको थियो l यो समाचार लेखिरहँदा तीजगीत ‘हर हर महादेव’ को भिडियोले युट्युबमा १ लाख २२ हजार भन्दा माथि भ्युज पाईसकेको छ l

‘हर हर महादेव’ मा सन्तोष श्रेष्ठको सङ्गीत र कृष्ण पुनको सङ्गीत संयोजन रहेको छ l पवित्रा आचार्यको कोरियोग्राफी तथा निर्देशन रहेको यस भिडियोमा निता ढुंगाना र सहिमा स्वयम्ले आकर्षक नृत्य गरेका छन् l भिडियोको सम्पादन सुप्रिम पराजुलीले गरेका हुन् l यसैगरी ‘तिम्रो शहर’ बोलको गीतका सङ्गीतकार दीपक शर्मा हुन् l पवित्रा आचार्यकै कोरियोग्राफी रहेको यस भिडियोमा आँचल शर्मा र अनुप विक्रम शाहीले अभिनय गरेका छन् l एल्बम विमोचन र भिडियो रिलिज पश्चात राती अबेरसम्म रात्री भोजको समेत आयोजना गरिएको थियो l कार्यक्रम नरेश भट्टराईले संचालन गरेका थिए l

Video Link