‘आँखामा गाजल’ हिट भएपछि ‘ठुम्का’ लाउँदै शर्मिला

‘आँखामा गाजल’ बोलको डान्सिङ् शैलीको गीतबाट चर्चामा आएकी मायालु स्वरकी गायिका शर्मिला राई पुनः डान्सिङ् बिटको नयाँ गीत ‘ठुम्का’ को भिडियो लिएर आएकी छिन् l अघिल्लो टिमकै सहकार्यमा यो गीत पनि बजारमा आएको हो l जसमा डी. पी. खनालको शब्द, शंकर थापा ‘स्माइल’ को सङ्गीत र उदयराज पौडेलको सङ्गीत संयोजन रहेको छ भने ‘आँखामा गाजल’ का निर्देशक विजय रुम्बाले नै ‘ठुम्का’ को भिडियो पनि कोरियोग्राफी र निर्देशन गरेका हुन् l यतिमात्र हैन शर्मिलाको अघिल्लो भिडियोमा सर्वप्रिय मोडल एलिशा राईले नृत्य / अभिनय गरेकी थिईन् भने यसमा पनि एलिशालाई नै देख्न सकिन्छ l एलिशालाई  आकाश राई, एलिश राई, आनन्द गुरुङ, हरि अधिकारी आदि कलाकारले साथ दिएका छन् l भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाईंले छायाङ्कन गरेका हुन् भने सहायक निर्देशकको रुपमा निर्देशक विजयलाई नम्रता तामाङले सघाएकी छिन् l यो समाचार लेखिरहँदा शर्मिलाको अघिल्लो भिडियो ‘आँखामा गाजल’ ले २९ लाखको हाराहारीमा भ्युज पाएको छ l यही क्रमले भ्युज बढ्दै जाने हो भने यो भिडियोले उत्साहजनक लोकप्रियता हासिल गर्ने कुरा अनुमान गर्न सकिन्छ l  DUSH MUSIC नामक च्यानलबाट रिलिज भएको ‘ठुम्का’ ले पनि ३ लाख भन्दा बढी भ्युज पाईसकेको छ l

पुर्ख्यौली तथा जन्मथलो खोटाङ भएपनि सानैमा चितवन र त्यसपछि काठमाण्डौमा खेले हुर्केकी प्रतिभा शर्मिला राईले लगभग एकबर्ष अघि अल्बिन थापा मगरको शब्द/सङ्गीत रहेको आधुनिक गीत ‘संसारकै नमूना बनोस् हाम्रो माया’ पहिलोपटक रेकर्ड गरेकी थिईन् l युगल स्वरको यस गीतमा उनलाई गीतकार तथा सङ्गीतकार अल्बिनले नै साथ दिएका थिए l भिडियो नबनेका कारण सो गीत आशातित रुपमा श्रोतामाझ पुग्न नसके पनि केही महिना अघि रिलिज भएको ‘आँखामा गाजल’ को भिडियो हिट भएपछि शर्मिलाको गायन करियरमै यु टर्न आएको हो l

सङ्गीत क्षेत्रमा अगाडि बढ्नका लागि अभिभावकहरुको पनि राम्रो ‘सपोर्ट’ पाईरहेकी शर्मिला आफ्नो परिवारबाट यस क्षेत्रमा लाग्ने एकमात्र कलाकार हुन् l स्कूल पढ़दैदेखि आशालाग्दो प्रतिभाका रुपमा चिनिएकी शर्मिलाले त्यो बेला धेरै पुरस्कारहरु समेत जितेकी थिईन् l उनले मनोजराजसँग लगभग १ वर्ष शाश्त्रीय सङ्गीत सिकेकी छिन् l यहाँसम्म आईपुग्नका लागि सङ्गीतकर्मी विजय रुम्बाको सबैभन्दा महत्वपूर्ण भूमिका रहेको कुरा उनले बताएकी छिन् l

Video Link