दुर्व्यसन विरुद्धको अभियानका लागि सडक नाटक

कहिले अभिनय, कहिले गीत लेखन, कहिले रेडियो कार्यक्रम संचालन त कहिले हास्यव्यङ्ग्य कलाकारको जीवनी ( पुस्तक ) लेखन जस्ता कार्य गरेर चर्चामा आईरहने कलाकार तथा लेखक जीवनराज दाहाल हाल आफ्नै ठाउँमा चेतनामूलक नाटक मञ्चन गर्दै हिँडिरहेका छन् ।

लागु औषधका कारण बर्षेनी युवाहरुको मृत्युको क्रम नरोकिएपछि युवा अभियान नेपाल बर्दिवासका युवाहरुले बर्दिवास नगरपालिकाको सहयोगमा लागु औषध दुर्व्यसन विरुद्धको नाटक ‘बिम्ब प्रतिबिम्ब’ मञ्चन गरेका छन् । स्थानीय स्तरमै रहेका केही कलाकार र केही राष्ट्रिय स्तरका कलाकारको अभिनय रहेको उक्त नाटक वरिष्ठ कलाकार सुभाष गजुरेल र समाजसेवी विष्णु बम्जनको संयोजकत्वमा तयार भएको हो । ईश्वर पोखरेलको लेखन तथा राजु दोङको निर्देशनमा तयार भएको सो नाटकमा अनिल दाहाल, राजु दोङ, ईन्द्र थापा, जीवनराज दाहाल, ममता अधिकारी, सोबिका क्षेत्री, मदन सुन्दास, सविना लाम्गादे, रामबाबु महतो, मनोज थापा, बिजु भट्टराई आदि कलाकारको अभिनय रहेको छ ।

‘युवा अभियान नेपालको प्रयास, दुर्व्यसनमुक्त बर्दिवास’ भन्ने नाराका साथ सुरु भएको यस सडक नाटक खयरमारा, हाथिलेट, किसाननगर, बिजलपुरा, चौलिखा, गौरीवास र बर्दिवास वरपरका स्कुल, कलेज लगायत बर्दिवास नगरपालिकाका विभिन्न ठाउँहरुमा मञ्चन भइरहेको छ । सुनगाभा एफ. एम., Audio Video Nepal (युट्युब च्यानल), पत्रकार ईशारा लामा तथा बर्दिवास बासीको भरपुर साथ र सहयोगका कारण नाटक सफलताका साथ मञ्चन भइरहेको जानकारी प्राप्त भएको छ ।