चलचित्र पत्रकार सङ्घ, मकवानपुरले दुईजना पत्रकार र एकजना सिनेकर्मीलाई सम्मान गर्ने

चलचित्र पत्रकार सङ्घ मकवानपुरले यो वर्ष प्रदान गर्ने ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार’ बाट सञ्चारकर्मी नवराज लम्साललाई पुरस्कृत गर्ने भएको छ । चलचित्र पत्रकार सङ्घ मकवानपुर शाखाको शनिबार बसेको बैठकले हरेक वर्षको जेठ ७ गते मनाउँदै आएको चलचित्र पत्रकारिता दिवसको अवसरमा लम्साललाई पुरस्कृत गर्न लागेको हो । लम्साललाई प्रदान गर्ने पुरस्कारको राशी नगद रु. १० हजार रहेको छ ।

सोही अवसरमा यो वर्ष ‘चलचित्र पत्रकारिता पुरस्कार’ बाट मकवानपुरबाट नेपाल समाचार पत्रमा कलम चनाउँदै आएका सञ्चारकर्मी रोशन पराजुलीलाई पुरस्कृत गर्ने निणर्य गरिएको छ । पराजुलीलाई दिने पुरस्कारको राशी रु. ५ हजार रहेको छ ।  मकवानपुरमा जन्म भई राष्ट्रिय कलाकारितामा जम्न सफल कलाकारहरुलाई गरिने सम्मान स्वरुप हरेक वर्ष प्रदान गर्दै आएको ‘चलचित्रकर्मी सम्मान’ बाट यो वर्ष नेपाली चलचित्र क्षेत्रका अग्रज द्वन्द्व  निर्देशक – कलाकार तथा निर्माता, निर्देशक राजेन्द्र खड्गीलाई  सम्मान गर्ने निर्णय गरिएको सङ्घका अध्यक्ष मणिराज गौतमले बताए ।

सङ्घले गतवर्ष ‘चलचित्र सम्मान’ बाट नायिका निता ढुङ्गाना, ‘राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार’ बाट डब्बु क्षेत्री र ‘चलचित्र पत्रकारिता पुरस्कार’ बाट रामकुमार एलनलाई पुरस्कृत गरेको थियो भने यसअघि कलाकार भोलाराज सापकोटा, अमिर गौतम, सुशान्त कुमार श्रेष्ठलाई कलाकारिता सम्मान प्रदान गरेको थियो ।