धनकुटाका विद्यार्थीहरु काठमाण्डौमा, तुलसी पराजुलीसँगै गीत गाउँदै नाचे

  • तुलसी गिरी ‘भावुक’धनकुटाका ४ वटा विद्यालयबाट संयुक्त रुपमा ‘अध्ययन अवलोकन भ्रमण’ मा आएका विद्यार्थीहरुले घट्टेकुलोस्थित ‘सिटी मन्टेश्वरी’ को अवलोकन गरेका छन् l सुदूरपूर्वको रमणीय पहाडी जिल्ला धनकुटा अन्तर्गत धनकुटा नगरपालिका वडा न.-९ स्थित देउराली मा. बि., थानी आधारभूत विद्यालय, कौशिका आधारभूत विद्यालय र बाल कल्याण आधारभूत विद्यालय गरी ४ वटा विद्यालयका ३५ जना विद्यार्थीहरुले सो मन्टेश्वरीको अवलोकन गरेका हुन् l धनकुटा गृह जिल्ला भएका लोकप्रिय गायक तुलसी पराजुलीको आग्रहमा सो मन्टेश्वरीकी प्रिन्सिपल पुष्पा रिजालले एक अनौपचारिक कार्यक्रम सहित मन्टेश्वरीको अवलोकनको व्यवस्था मिलाएकी थिईन् l मन्टेश्वरी प्राङ्गणमा आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई सम्वोधन गर्दै गायक तुलसी पराजुलीले भ्रमणबाट सिकेका-जानेका कुरा धनकुटा पुगेर सबैलाई जानकारी गराउन आग्रह गरे l टोलीमा स्थानीय बाल क्लव र रेडक्रश कार्यसमितिका बालबालिकाहरु समेत रहेको कुरा बताउँदै गायक पराजुलीले सानै उमेरमा नेत्तृत्वदायी र जिम्मेवार भूमिका निर्वाह गरेकोमा बालबालिकाहरुको प्रशंसा गरेका थिए l पराजुलीले गितार बजाउंदै आफ्ना लोकप्रिय केही गीत गाउँदा विद्यार्थीहरु रमाईलो मान्दै सँगसँगै गाउँदै नाचेका थिए l कार्यक्रममा मन्टेश्वरीकी प्रिन्सिपल पुष्पा रिजालले मन्टेश्वरी शिक्षा पद्दतिको बारेमा जानकारी गराउंदै विद्यार्थीहरुलाई कक्षाकोठा अवलोकन गराएकी थिईन् l उनले भरखरै आफूले लेखेको अप्रकाशित लेख ‘बाल विकाशका लागि अभिभावक र विद्यालयको सम्बन्ध’ शीर्षकको लेख समेत पढेर सुनाएकी थिईन् l कार्यक्रममा संचारकर्मी अशोक प्यासी राईले आफू संलग्न एक संस्थाले अक्षयकोष खडा गरी गरिब तथा जेहेन्दार विद्यार्थीहरुको नि:शुल्क शिक्षाका लागि सहयोग गरिरहेको जानकारी गराउंदै स्थानीय निकायबाट सिफारिस सहित अनुरोध भई आएमा त्यस्ता बालबालिकाहरुलाई सहयोग गर्न सकिने कुरा बताएका थिए l यो बर्ष १० जना बालबालिकाहरुलाई संस्थाले सहयोग गर्न लागेको कुरा समेत उनले जानकारी गराए l कार्यक्रममा संचारकर्मी तुलसी  गिरी ‘भावुक’  र सीताराम बडालको समेत उपस्थिति रहेको थियो l

देउराली मा. बि. धनकुटाका प्रधानाध्यापक बेल बहादुर लिम्बूका अनुसार वडा नम्बर – ९ को आर्थिक सहयोगमा यो भ्रमणको आयोजना गरिएको हो l टोलीमा प्रधानाध्यापक लिम्बूका अतिरिक्त विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ईन्द्र राई, शिक्षक हेम कुमार लिम्बू, शिक्षिकाहरु सविता वराल, लिला बजगाईं, गंगा विष्ट, वडा नम्बर – ९ का अध्यक्ष मनोज राय र नगरपालिका कर्मचारी टंक रोईला रहेका छन् l पढाई र अतिरिक्त क्रियाकलापमा समेत अब्बल एवं सक्रिय विद्यार्थीहरुलाई भ्रमणमा संलग्न गराईएको कुरा समेत प्राधानाध्यापक लिम्बूले जानकारी गराएका छन् l उनका अनुसार मन्टेश्वरीमा आउनु अघि टोलीले पशुपति, स्वयम्भू, सदर चिडियाखाना र चन्द्रागिरिको भ्रमण गरिसकेको छ भने सिंह दरबार, मनकामना, पोखरा र चितवन हुँदै टोली धनकुटा फर्कने छ l प्रधानाध्यापक लिम्बूले विराटनगरबाट काठमाण्डौ आउने क्रममा यति एयरलाइन्सले टिकटमा दिएको सहुलियतप्रति समेत पटक पटक कृतज्ञता प्रकट गरे l