ब्यस्त रेकडिस्ट एचबीएन किस्मत

  • गीता अधिकारी –

    एउटा राम्रो गीत स्रोता / दर्शकसम्म आउँदा धेरैको मेहनत रहेको हुन्छ । एउटा गीत तयार हुनका लागि गीतकार, सङ्गीतकार, एरेञ्जर, गायक, रेकर्डिष्ट (साउण्ड इञ्नियर) लगायतका थुप्रै व्यक्तिहरुको संलग्नता रहेको हुन्छ । पर्दामा गायक मात्रै देखिए पनि पर्दा पछाडि रहेर काम गर्नेहरुको त्यत्तिकै मेहनत रहेको हुन्छ । एउटा राम्रो गीतका लागि पर्दामा देखिने गायक र पर्दा पछाडि रहेर मेहनत गर्ने सबैको परिश्रमले राम्रो गीत स्रोता / दर्शकसम्म आइपुग्छ । यस्तै पर्दा पछाडि रहेर आफ्ना क्रिएशन पस्किरहेका एक अब्बल दर्जाका प्राविधिक हुन्- एचबीएन किस्मत ।

काठमाडौंलाई कमर्थलो बनाएर रेकर्डिष्ट अर्थात् साउण्ड इञ्नियरको कार्यमा आफूलाई अब्बल सावित गरिरहेका छन् एचबीएन किस्मत ।

आफ्नो सानैदेखिको रुचिले अहिले यो स्थानमा पुग्न सफल भएको बताउने किस्मत सानो छँदादेखि नै लाइभ बाजा बजाउन निक्कै मन पर्थ्यो भन्छन् । ‘म बाँसुरी र मादल बजाउँथें । २०६८ मा एसएलसी दिएपछि अझ म यो क्षेत्रमा हेलिँदै आएँ’ उनी स्पष्ट पार्छन् ।

एरेञ्जर, कम्पोजर आशिष अविरल एचबीएन किस्मतका मामा हुन् । अविरलको मार्ग निर्देशनले उनलाई यस क्षेत्रमा अझ सजिलो भयो आफ्ना क्रिएशनहरु पस्किनका लागि । भाञ्जालाई काठमाडौं ल्याउँछु, राम्रो रेकर्डिष्ट बनाउँछु भन्ने सोच रहेछ अविरलमा पनि ।
सानैदेखिको आफ्नो रुचीको क्षेत्र भएकाले पनि एचबीएन किस्मत मामाको सहयोगमा काठमाडौं आए र सङ्गीत क्षेत्रमा सङ्घर्ष गर्न थाले । तर, स्टुडियोमा काम गरेर घरखर्च चलाउन गाह्रो भयो । उनले वैदेशिक रोजगारीमा जाने निर्णय गरे । दुईवर्ष जति उनी दुबई गएर बसे । त्यहाँ बस्दा पनि उनले म्युजिकलाई छोड्न भने सकेनन् । त्यहाँ पनि समय मिलेसम्म सङ्गीतमा थप अध्ययन गरे l नेपाल आएपछि उनले यसै क्षेत्रलाई निरन्तरता दिए । अध्ययन गरेर आएको सिपलाई पस्किन थाले । वरिष्ठ साउण्ड इञ्नियर प्रदिप उपाध्यायसँग पनि यस सम्वन्धी  अध्ययन गरेका उनी मामा अविरलसँग पनि आफूले धेरैकुरा सिकेको  बताउँछन् । ‘अहिले पनि सिक्दै छु’ उनी भन्छन् ।

अहिलेसम्म दुईसय पचास भन्दा बढी गीतमा मिक्सिङको कार्य गरेको बताउने एचबीएन किस्मतका माया लुकि लुकि, सालको पातको टपरी,  कर्के नजर, लालु मै, गोप्य कुरा, मेरो हजुर ३ का सबै गीत, ओ सानी, तिमी नै मेरो सास हौ, मीठो मीठो जस्ता थुप्रै गीत दर्शक / स्रोताको रोजाइमा परेका छन् । उनी भन्छन्- ‘म यो क्षेत्रमा निरन्तर छु । अझ धेरै गर्न बाँकी छ । अन्तर्राष्ट्रिय सफलताको पर्खाइमा छु र अवश्य त्यो दिन चुम्ने छु ।’ राम्रा राम्रा गीत पस्किरहेका उनका कर्महरुले सफलता पईरहँदा उनी यतिबेला सबैको रोजाईका रेकर्डिष्ट बनेका छन् र ब्यस्त पनि ।