– प्रकाश अर्याल –
एनआरएनए स्कटल्याण्ड राज्य समन्वय समितिले स्कटल्याण्डको प्रख्यात डुमएट हिल, स्टरलिङमा आइतबार आयोजना गरेको ‘हिल वाक इभेन्ट’ भब्य रुपमा सम्पन्न भएको छ । करिव सयजना भन्दा बढी व्यक्तिहरुको सहभागिता रहेको नौलो तरिकाको ‘हिल वाक इभेन्ट’ ले एनआरएनएप्रति सचेतना जगाएको एनआरएनए स्कटल्याण्डका अध्यक्ष मोहन कार्कीले बताएका छन् ।
‘एनआरएनए स्कटल्याण्डको यो पहिलो पब्लिक कार्यक्रमले सहभागीहरुमाझ एनआरएनएप्रति सकारात्मक भावना जगाएको र यसले एनआरएनएको सदस्यता र संगठन बिस्तारमा समेत सहयोग पुगेको छ’ अध्यक्ष कार्कीले बताए । ‘हिल वाक इभेन्ट’ बाट सहायता कोषको लागि सहयोग सङ्कलन भएको र सहयोग सङ्कलन क्रम जारी नै रहेको समेत अध्यक्ष कार्कीले बताएका छन् । उक्त कोषबाट सङ्कलित सहयोग आपतकालीन र मानव कल्याणको क्षेत्रमा प्रयोग गरिने थाहा भएको छ ।
उक्त हिल वाक सुरु हुनु भन्दा पहिले एनआरएनए स्कटल्याण्डका सचिव कृष्ण दाहालले हिल वाकको विवरण, स्वास्थ्य र सुरक्षाबारे जानकारी दिएका थिए । डुमएट हिलमा पाँच माइलको हिँडाईको लागि करिव दुई घण्टा लागेको थियो । उक्त कार्यकममा एनआरएनए युकेका उपाध्यक्ष ललित न्यौपाने सहित स्कटल्याण्डको बिभिन्न स्थानहरु एडिनब्रा, ग्लासगो, एबर्डिन, फलक्रिक, फाइफ, पर्थ ,डनफर्मलिन र स्टरलिङबाट सहभागिता रहेको कार्यक्रम संयोजक राम बगालेले बताए ।
‘हिल वाक इभेन्ट’ मा ‘भिजिट नेपाल २०२०’ को प्रचार समेत गरिएको छ । उक्त इभेन्टमा अध्यक्ष कार्कीले प्रायोजन गरेको ‘भिजिट नेपाल २०२०’ को प्रचार सामग्री ‘कार स्टिकर’ वितरण गरिएको थियो । एनआरएनए स्कटल्याण्डका अध्यक्ष कार्कीले स्कटल्याण्डका प्रत्येक एनआरएनएले आफ्ना साथीहरुलाई नेपाल भ्रमण गर्न प्रोत्साहन गरे नेपालको पर्यटन ब्यवसायमा सहयोग पुग्ने बताएका थिए । एनआरएनए स्कटल्याण्डले ‘भिजिट नेपाल २०२०’ को प्रचार को लागि नेपाली दुतावास र पर्यटन बोर्डसँग समन्वय गरिरहेको समेत कार्कीले जानकारी गराएका थिए ।