विशेषगरी लोक तथा दोहोरी गीतको क्षेत्रमा सबैले रुचाएका म्युजिक एरेन्जर विनोद बाजुरालीको लेखन तथा निर्देशन रहेको लघु हास्य चलचित्र ‘अर्थको अनर्थ’ एक पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिएको छ l अनामनगरस्थित संवाद डबलीको हलमा आयोजित कार्यक्रममा सो लघु चलचित्र पत्रकारहरु समक्ष प्रदर्शन गरे पश्चात युट्युबमा समेत अपलोड भएको जानकारी गराईएको थियो l साथीभाइसँग मजाक गरिराख्ने र जोक सुनाईराख्ने रसिक स्वभावका विनोद बाजुरालीले त्यस्तै माहोलमा सुनाएको एउटा मजाकलाई भिडियोमा ल्याउन अर्का सङ्गीतकर्मी एवं सङ्गीत व्यवासायी रामु खड्का उत्सुक भएपछि त्यसलाई केही परिष्कृत गरी कथाको रुप दिईएको थियो l रामु खड्काको कम्पनी मालती डिजिटल उत्पादक/वितरक रहेको यो भिडियो मालती डिजिटल नामक युट्युब च्यानलमा अपलोड भएको छ l ‘हामी पर्दामा अभिनय गर्ने कलाकार पनि हैनौ र लेखन र निर्देशनको अनुभव पनि हामीसँग छैन l यो फिल्म रहरै रहरमा बनाईएको हो’ फिल्मका लेखक तथा निर्देशक बाजुरालीले कार्यक्रमलाई सम्वोधन गर्दै भने l
हेर्दा सामान्य जस्तो लागेपनि यस लघु चलचित्रमा एकातिर जातीय एवं लैङ्गिक विभेद र असमानता विरुद्धका आवाजहरु उठाईएका छन् भने कालो कर्तुत गरेर धन कमाउनेहरुप्रति पनि व्यंग्य गरिएको छ l एउटा गहन र महत्वपूर्ण विषयलाई नबुझी आ-आफ्नै प्रकारले त्यसको अर्थ लगाउँदा अर्थात अर्थको अनर्थ लगाउँदा अनाहकमा वैमनष्यता बढ्ने र अप्रिय अवस्थाको सिर्जना हुन सक्ने कुरालाई यस लघु चलचित्रले प्रतीकात्मक रुपमा प्रस्तुत गरेको छ l
राजेश घिमिरे र हरिश महराको छायाङ्कन एवं अमर शाक्यको सम्पादन रहेको यस लघु हास्य चलचित्रमा रामु खड्का, करन साउद, तेजस रेग्मी, महेन्द्र गौतम, भीम थापा, विनोद बाजुराली, मन्जिता के. सी., सुमन परियार, दीपक जंग बी. सी., टेक बोहरा, विनिता खड्का, विष्णुचरण शाही, विन्दु पुन, राम गोपाली, ज्ञान पुन मगर, रुपेन्द्र खड्का आदि कलाकारको अभिनय रहेको छ l लघु चलचित्रमा कथाको मुख्य विषयवस्तुको रुपमा रहेको सप्तक गायन [ सारेगमपधनिस ] मा स्मृति शाहीको स्वर रहेको छ l
video link