‘नेपाल लोक स्टार’ को सम्पूर्ण तयारी पूरा, भोलि फागुन १६ बाट अडिशन सुरु

नेपालमै हालसम्मको सबैभन्दा ठूलो राशी रु. ५० लाख प्रथम पुरस्कार भएको लोक गायनमा आधारित रियालिटी शो ‘नेपाल लोक स्टार’ को अडिशन भोलिबाट सुरु हुँदै छ l जसका लागि कार्यक्रम निर्देशक सुरेश पौडेल, निर्णायकहरु जयनन्द लामा, बि. बि. अनुरागी, रामजी खाँड र सुनिता दुलाल, कार्यक्रमका सङ्गीत निर्देशक नरहरि प्रेमी, कार्यक्रम उद्घोषक शुभेक्षा खड्का र अशोक धिताल, आयोजक कमिटिका अन्य सदस्य तथा प्राविधिक गरी ७२ जनाको टोली केहीदिन अघि नै धनगढी पुगिसकेको छ l अडिशनको लागि सम्पूर्ण तयारी पूरा भएको कुरा धनगढीबाट नरहरि प्रेमीले जानकारी गराएका छन् l प्रेमीका अनुसार प्रदेश ७ अन्तर्गत भोलि धनगढीको कैलाली बहुमुखी क्याम्पसमा पहिलो चरणको प्रथम अडिशन सुरु हुने छ l

आयोजक संस्था ‘चाहना मिडिया प्रा. लि.’ का अध्यक्ष सहदेव कोईरालाका अनुसार प्रदेश ६ अन्तर्गत फागुन २० गते सुर्खेतको वीरेन्द्रनगरस्थित मध्यपश्चिम विश्व विद्यालयमा, प्रदेश ५ अन्तर्गत फागुन २५ गते बुटवलको एभरेष्ट सेकेण्डरी स्कूलमा, प्रदेश ४ अन्तर्गत चैत २ गते पोखराको सिमलचौरस्थित जनप्रिय उच्च माविमा, प्रदेश १ अन्तर्गत चैत ११ गते ईंटहरिको पिसजोन हायर सेकेण्डरी स्कूलमा, प्रदेश २ अन्तर्गत चैत १६ गते जनकपुरमा र प्रदेश ३ अन्तर्गत चैत २३ गते काठमाण्डौको मिनभवनस्थित इङ्गलिस प्रिरपरेटोरी स्कूलमा पहिलो चरणका अडिशनहरु हुने छन् l प्रतिस्पर्धामा भाग लिन चाहने गायक-गायिकाहरुले सातै प्रदेशका ९५ एफएम रेडियो मार्फत र चाहना मिडियाको एप्स मार्फत समेत फारम भर्न सक्ने व्यवस्था गरिएको छ भने छुटेकाहरुले आयोजनास्थलमै समेत फारम भर्न सक्ने छन् l फारम भरेर पनि विशेष कारणवश अडिशनमा सहभागी हुन नसकेका वा आफ्नो प्रदेशमा फारम भर्न छुटेका प्रतिस्पर्धीहरुले समेत अर्को प्रदेशमा गएर फारम भर्न र सहभागिता जनाउन सक्ने छन् l प्रतिस्पर्धामा द्वित्तीय हुनेले रु. २५ लाख र तृतीय हुनेले रु. १० लाख प्राप्त गर्ने छन् l

यो कार्यक्रम आगामी जेठ १७ देखि हरेक साताको शनिबार र आईतबार २ दिन राती ८:३० देखि ९:३० एपीवान टेलिभिजनबाट प्रसारण हुने छ भने फाइनल सम्म पुग्दा कार्यक्रम कूल ३१ भागको हुने अनुमान गरिएको छ l प्रतिस्पर्धीहरुमा उमेरको कुनै प्रकारको सिमा तोकिएको छैन l नेपालमा प्रचलित सबै भाषा र भाकाका गीत गाउन सक्ने छन् l जसको निर्णयमा सहजताका लागि हरेक प्रदेशका अडिशनमा स्थानीय सङ्गीत तथा संस्कृति विज्ञलाई समेत अतिथि निर्णायकको रुपमा सहभागी गराइने छ l अडिशन फारम शुल्क रु. १ हजार तोकिएको भएपनि प्रतिभा भएका तर अति विपन्न कलाकारहरुलाई विपन्नताको प्रमाण लिएर आएमा अवसरबाट वन्चित नगराईने कुरा आयोजकले जानकारी गराएका छन् l