‘सफलता एच.आई.भी शिक्षा सदन’ कीर्तिपुरलाई विश्वकै पहिलो पहिचान सहितको विद्यालयको प्रमाणपत्र

‘सफलता एच.आई.भी शिक्षा सदन’ कीर्तिपुरले विश्वकै पहिलो पहिचान सहितको विद्यालयमा सुचिकृत गरिएको प्रमाणपत्र प्राप्त गरेको छ । विगत ९ वर्षदेखि शिक्षाबाट बञ्चित एच.आई.भी संक्रमित बालबालिकाहरुलाई छात्रावासमा राखी स्वास्थ्य उपचार र  लालनपालन सहित शिक्षा प्रदान गर्दै आएको सो विद्यालयलाई ‘वर्ल्ड वुक्स अफ रेकर्डस्’, लण्डनले सो प्रमाणपत्र प्रदान गरेको हो । श्री पञ्चमीका दिन प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा ‘वर्ल्ड वुक्स अफ रेकर्डस्’, लण्डनका पदाधिकारीहरुको उपस्थितिमा प्रधानमन्त्री केपी शर्मा ओलीले  विद्यालयका संस्थापकद्वय राज कुमार पुन र उमा गुरुङ राईलाई संयुक्त रुपमा प्रमाणपत्र हस्तान्तरण गरेका थिए  ।

सो अवसरमा प्रधानमन्त्रीले सम्मानित हुने विद्यालयका संस्थापक द्वयलाई बधाई ज्ञापन गर्दै यस्ता अन्तर्राष्ट्रिय सम्मानले समाजसेवामा निस्वार्थ रुपमा लागेका सामाजिक अभियन्ताहरुलाई थप उर्जाशील बनी सेवा गर्न प्रेरणा मिल्ने विचार राख्दै सरकार एच.आई.भी. संक्रमित बालबालिकाहरुको भविष्यप्रति गम्भीर रहेको र सामाजिक चेतनास्तर अभिवृद्धि गराउने अभियान सशक्त ढंगले सञ्चालन गरिने बचनबद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्रीले  ‘वल्र्ड वुक्स अफ रेकर्डस्’, लण्डन प्रति कृतज्ञता प्रकट गरे ।

कार्यक्रममा वीरेन्द्र शर्मा (सांसद, वेलायत) डा. दिवाकर सुकुल (अध्यक्ष, वर्ल्ड वुक्स अफ रेकर्डस्, लण्डन),  सन्तोष शुक्ला (अध्यक्ष, वर्ल्ड वुक्स अफ रेकर्डस् )  सागर कट्वाल (अध्यक्ष, वर्ल्ड वुक्स अफ रेकर्डस्, नेपाल ) लगायत नेपाल, भारत तथा लण्डनका विशिष्ट व्यक्तिहरुले बधाई ज्ञापन गरेका थिए ।