नेपालमै पहिलोपटक ‘सोसियल मिडिया फिल्म अवार्ड’ सम्पन्न

‘ड्रिम वर्ल्ड अफ फिल्म मेकर्स’ को आयोजनामा नेपालमै पहिलोपटक ‘सोसियल मिडिया फिल्म अवार्ड’ कार्यकम सम्पन्न भएको छ । माघ २७ गते आइतबार जमलस्थित होटल एल्लो प्यागोडाको पाँचौं तलास्थित हलमा कार्यक्रम सम्पन्न भएको थियो l फेसबुक, युट्युब लगायतका सामाजिक सञ्जालबाट छोटा चलचित्र, वृत्तचित्र एवं सन्देशमूलक सामग्री सम्प्रेषण गर्दै आएका सर्जक, कलाकार एवं प्राविधिकहरुलाई प्रोत्साहित गर्ने उद्देश्यले यो अवार्डको आयोजना गरिएको कुरा आयोजक संस्था एवं आयोजक कमिटीकी अध्यक्ष शवनम मुखियाले जानकारी गराएकी छिन् । सामाजिक संजालमा आउने यस्ता सामग्री मनोरन्जनप्रधान हुनुका साथसाथै समाजमा सकारात्मक प्रभाव पार्ने र संवेदनशील समेत हुने गरेको महसुस गरी राम्रा कृतिका सर्जक-कलाकारलाई हौसला प्रदान गर्नका लागि यो अवार्डको आयोजना गरिएको कुरा समेत अध्यक्ष मुखियाले स्पष्ट पारेकी छिन् । समारोहमा विभिन्न १६ विधाका सर्जक, सिर्जना र संस्थाले अवार्ड प्राप्त गरेका थिए । अवार्डको निर्णायकमा वरिष्ठ एनिमेटर एवं शफ्वेयर प्राविधिक करुण थापा, संचारकर्मी के. पी. ढुंगाना र संचारकर्मी एवं भिडियो निर्देशक सङ्गीता श्रेष्ठ रहेको कुरा थाहा भएको छ  ।
यसैगरी कार्यक्रममा नगद रु. ११ हजार १ सय ११ सहित ‘सोसियल रङ्गममञ्च पत्रकारिता पुरस्कार २०७५’ बाट कुवेर गिरी पुरस्कृत भएका थिए भने जनही रु. ११ हजार १ सय ११ सहित ‘सोसियल मिडिया सामाजिक अभियन्ता सम्मान २०७५’ बाट उत्तम सञ्जेल र ‘सोसियल मिडिया चलचित्रकर्मी सम्मान २०७५’ बाट सङ्गीता श्रेष्ठलाई सम्मान गरिएको थियो ।

 

अवार्ड विजेताहरु –

१)  सर्वोत्कृष्ट भिडियो { युट्युव } – निमेश श्रेष्ठ ( फन रिभोलुशन टिभी )

२)  सर्वोत्कृष्ट भिडियो { फेसबुक } – निमेश श्रेष्ठ

३)  सर्वोत्कृष्ट भिडियो { समाचार } – सन्तोषी अधिकारी

४) सर्वोत्कृष्ट ट्रोल – ट्रोल फुटबल नेपाल

५)  सर्वोत्कृष्ट सम्पादन { लघु फिल्म } – उमेश चौधरी र युवराज खनाल

६)  सर्वोत्कृष्ट नायिका { लघु चलचित्र } – स्मृति न्यौपाने

७)  सर्वोत्कृष्ट नायक { लघु चलचित्र } –निमेश श्रेष्ठ र अनिस जंग थापा

८)  सर्वोत्कृष्ट साउण्ड { लघु चलचित्र } ‘आवाज’ – विनय अधिकारी

९) सर्वोत्कृष्ट छयाङ्कन { लघु चलचित्र } – विकल थापा

१०)  सर्वोत्कृष्ट भिडियो {लघु चलचित्र }  ( निर्णायकका तर्फबाट) – ‘बोकाहरु’ ( फन रिभोलुशन टिभी )

११)  इन्करेजमेन्ट अवार्ड – विकास घले गुरुङ

१२) सर्वोत्कृष्ट सोसियल म्यासेज – राज मानन्धर

१३) सर्वोत्कृष्ट सार्वजनिक छनोट – सञ्चिता बुढाथोकी

१४) सर्वोत्कृष्ट  निर्देशक { लघु चलचित्र } – अनिरुद्र दवाडी

१५) सर्वोत्कृष्ट डकुमेन्ट्री – जोगी

१६) सर्वोत्कृष्ट लघु चलचित्र – अलिखित

 

रविन आचार्य कार्यक्रम संयोजक रहेको यस अवार्ड समारोहमा पहिलो नेपाली चलाचित्रकी अभिनेत्री भुवन चन्द, पहिलो नेपाली रंगिन चलचित्रकी अभिनेत्री चैत्यदेवी, पहिलो हास्य अभिनेत्री बसुन्धरा भुसाल, वरिष्ठ सङ्गीतकार शम्भुजीत बास्कोटा, वरिष्ठ अभिनेता कृष्ण मल्ल, केशव भट्टराई, युवा पुस्ताका लोकप्रिय सङ्गीतकार राजु सिंह, सन्तोष श्रेष्ठ, चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारी लगायतका चलचित्रकर्मी, सङ्गीतकर्मी एवं संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।