- – तुलसी गिरी ‘भावुक’
लामो समयदेखि गीत-सङ्गीतको क्षेत्रमा भिडियो निर्देशकको रुपमा ठूलो ख्याति कमाएका उमेश गुरुङ यतिबेला सिने क्षेत्रमा समेत निर्देशकको रुपमा चर्चामा छन् l विगतमा ठूलो पर्दाका केही चलचित्रमा सहायक निर्देशकको रुपमा काम गरेका उमेशले पहिलोपटक निर्देशन गरेको चलचित्र ‘जेसुकै होस्’ सुपरहिट भएपछि सिने नगरीमा रातारात उनको चर्चा भएको हो l यो समाचार लेखिरहँदा चलचित्र ‘जेसुकै होस्’ रिलिज भएको चौथो हप्तामा समेत केही हलमा चलिरहेको छ l चलचित्र प्रदर्शनका विगतका घटनाक्रमहरुलाई हेर्दा चौथोहप्तासम्म फिल्म चल्नुलाई ‘सुपरहिट’ भएको मान्न सकिने कुरा निर्देशक उमेशले बताएका छन् l
‘जेसुकै होस्’ गत पुष २० गतेबाट देशैभर ५ दर्जनभन्दा बढी हलमा एकैसाथ लिलिज भएको थियो भने १ हप्तासम्म सबै हल ‘हाउसफुल’ चल्यो l दोस्रो हप्तामा सामान्य रुपमा दर्शक घटेपनि ब्यापार राम्रो भएको थियो l यसैगरी तेस्रो र चौथो हप्तासम्म आईपुग्दा केही हलमा अझै फिल्म चलिरहेको छ l अक्सर धेरैजसो चलचित्र १ हप्ताभित्रै आउट हुने गरेको परिप्रेक्ष्यमा ‘जेसुकै होस्’ को यो सफलताबाट यसका निर्माता, निर्देशक र समस्त निर्माण टिम उत्साहित हुनु स्वाभाविकै हो l ‘पहिला बिदेशमा चलाएर त्यसपछि नेपालमा चलाउने योजना थियो l तर नेपालको लागि रिलिज मिति घोषणा भएपछि विदेशतिर जाने समय नै भएन l फिल्ममा गुरुङ समुदायको भेषभूषा लगायतका साँस्कृतिक पक्ष पनि भएकोले गाउँ गाउँतिरबाट ‘डिमाण्ड’ आइरहेको छ l हलमा चलिसकेपछि फेरि विभिन्न ठाउँका गुरुङ समुदायमा देखाउने योजना छ l अनि त्यसपछि मात्र विदेशको यात्रा सुरु हुन्छ’ निर्देशक उमेश गुरुङले भने l
यस चलचित्रबाट दर्शक ‘स्टार काष्ट’ हैन राम्रो ‘कन्टेन्ट’ चाहन्छन् भन्ने कुरा ‘प्रुफ’ भएको निर्देशक उमेशले बताएका छन् l उनी भन्छन्- ‘जेसुकै होस्’ मा त्यति धेरै नाम चलेका कलाकारहरुको संलग्नता छैन l ‘फिल्को प्रत्येक सिनमा दर्शकले ‘इन्जोए’ गरिरहेका हुन्छन् भने सँगसँगै शिक्षा पनि पाईरहेका हुन्छन् l अहिलेका ‘टिन एज ‘ पिंढी कसरी ड्रग्सको कुलतमा फसिरहेको छ र उनीहरुलाई त्यसबाट कसरी बाहिर निकाल्न सकिन्छ भन्ने कुरा फिल्मले देखाएको छ l यो फिल्म हेरेपछि ड्रग्सको कुलतमा फंसेकालाई सुधार केन्द्रमा लानै पर्दैन, आफैं सुध्रन्छन् l’ आफ्नो पहिलो फिल्म नै सफल भएकोमा खुशी व्यक्त गर्दै अनुभवले सिकाएका कुराहरु समेत मनन् गरी आगामी दिनमा अझ राम्रा फिल्म निर्माणमा लाग्ने समेत उमेशले बताएका छन् l
क्वालिटी फिल्म्सको ब्यानरमा निर्मित चलचित्र ‘जेसुकै होस्’ मा रोशन श्रेष्ठको पनि निर्देशन रहेको छ भने निर्देशक उमेश गुरुङकै कथा, द्वन्द्व तथा नृत्य निर्देशन रहेको छ l पटकथा/ संवाद एन. बी. अन्जानको र छायाङ्कन मधुर बस्नेतको रहेको यस चलचित्रमा दयाराम पाण्डे, नवराज जंग थापा, कुमार बिबाहित र डी. आर. अटुको शब्दरचनामा सुरेश अधिकारी, लक्ष्मण शेष, नवराज जंग थापा र डी. आर. अटुले सङ्गीत दिएका छन् l गीतमा राजेशपायल राई, मिना निरौला, नवराज जंग थापा, रुपक श्रेष्ठ, मेलिना राई र सुधारत्नको स्वर सुन्न सकिन्छ l यसैगरी चलचित्रमा उमेश गुरुङ, नवराज जंग थापा, किस्मत तामांग, रोशन श्रेष्ठ, चन्दा दाहाल, रामचन्द्र अधिकारी, सोनी गुरुङ, प्रकाश जंग थापा आदि कलाकारको प्रमुख भूमिका रहेको छ l सन्देशमूलक यस चलचित्रमा थिएटरका कलाकारहरु भएका कारण दर्शकले जीवन्त अभिनयको अनुभव गरेका छन् l वर्तमान अवस्थामा दुर्व्यशनमा लागेर युवावर्ग कसरी आफ्नो स्वास्थ्य र भविष्य बर्बाद पारिरहेको छ भन्ने कुरा देखाउंदै त्यसको सामाधान समेत प्रस्तुत गरिएको हुनाले ‘जेसुकै होस्’ झट्ट नाम सुन्दा नकारात्मक लागेपनि वास्तवमा यो सकारात्मक र सन्देशमूलक चलचित्र हो l