फिक्कलमा कला शिविर सम्पन्न

फिक्कल (सिन्धुली), माघ ७ गते । ताप्लेजुङदेखि कास्कीसम्मका हिमालय शृङ्खलाको ‘पानोरमा भ्यु’ देख्न सकिने सिन्धुलीको फिक्कल टाकुराको प्रवर्धन गरी पर्यटक भित्र्याउने उद्देश्य सहितको  ‘फिक्कल कला शिविर–२०७५’ हालै सम्पन्न भएको छ ।

फिक्कल गाउँपालिकाद्वारा आयोजित कला शिविरमा कलाकारले गाउँगाउँ घुम्दै सुनकोशी जलयात्रा, जनजीवन, भूदृश्य र फिक्कलबाट देखिने हिमालय शृङ्खलाका २३ चित्रकला तयार पारेका थिए ।

चित्रकलामा हिमाल पछ्याउँदै आएका कलाकार अंशुराम खाइजुले  फिक्कलको टाकुरा चढेपछि आश्चर्यचकित हुँदै भने- ‘एकै ठाउँबाट उभिएर यति धेरै हिमाल पहिले कहिल्यै देखेको थिइनँ ।’

शुक्रबार सम्पन्न उक्त छ दिने ‘फिक्कल कला शिविर’ मा ६ जना कलाकारको सहभागिता रहेको थियो । फिक्कल गाउँपालिकाका उपाध्यक्ष पार्वती सुनुवारका अनुसार कला शिविरमा अंशुराम खाइजु, मङ्गल प्रजापति, सुरेम देशार, अनिल महर्जन, जयराम महर्जन, डिकेश महर्जन र अनिल खड्काको सहभागिता रहेको थियो ।

उपाध्यक्ष सुनुवारले फिक्कलको पर्यटकीय विशेषताको खोजी र प्रवर्धन गर्ने उद्देश्यसहित कला शिविरको आयोजना गरिएको जानकारी दिए । उनले फिक्कलको पर्यटन विकासमा प्याराग्लाइडिङ, जलयात्रा, पूर्वदेखि पश्चिमसम्मका हिमालको दृश्यावलोकन, जडीबूटी र कृषिलाई जोड्दै अगाडि बढ्न सकिने सम्भावना रहेको बताए ।

पर्यटन प्रवर्धनमा तस्वीर र चित्रकलाको महत्वपूर्ण भूमिका हुने चर्चा गर्दै उपाध्यक्ष सुनुवारले भने –’कला शिविरमा तयार भएका चित्रकला र तस्बिरलाई राजधानी सहित देश विदेशमा लगेर प्रदर्शन गर्छौं । फिक्कलको प्रवर्धनमा यसले पक्कै सहयोग पुग्ने छ ।’

फिक्कलको पर्यटन प्रवर्धनका लागि साततले ‘भ्यू टावर’ समेत बन्ने क्रममा छ । २०६८ सालबाट निर्माण थालनी भएको यस टावरलाई गाउँपालिकाले दुईवर्ष गरी ७० लाख रुपैया विनियोजन गरिसकेको छ ।

विश्व प्रसिद्ध फिक्कल विकास संस्थाका अध्यक्ष प्रेम थापाले भने –’अबको छ महिनामा फिक्कलमा साततले टावर निर्माण सम्पन्न हुन्छ । त्यसपछि हिमाल अझ राम्रोसँग देख्न सकिन्छ ।’

कला शिविरमा तयार पारिएका चित्रकलालाई ‘प्रथम फिक्कल महोत्सव, २०७५’ मा प्रदर्शनीका लागि राखिएको छ । महोत्सव यही माघ ७ गतेसम्म सञ्चालन हुने जनाइएको छ । महोत्सव संयोजक समेत रहेका उपाध्यक्ष सुनुवारका अनुसार समुद्री सतहबाट २ हजार ३ सय ६८ मिटर उचाईमा रहेको फिक्कल टाकुराबाट  सगरमाथा लगायतका हिमशृङ्खलालाई देख्न सकिन्छ ।

फिक्कल गाउँपालिका सदस्य चेतबहादुर विश्वकर्माका अनुसार कला शिविरमा तयार भएका फिक्कल झल्कने चित्रकला महोत्सवको आकर्षणको विषय बनिरहेको छ ।

सगरमाथालाई आमनेसामने देख्न सकिने फिक्कलको पर्यटन प्रवर्धनका लागि कला शिविरको आयोजना गरिएको जानकारी दिँदै उपाध्यक्ष सुनुवारले भने –’आकाश खुलेको बेला तराईका भूभाग स्पष्ट देख्न सकिन्छ । सूर्योदय र सूर्यास्तको ‘लोन्ली भ्यु’ गज्जबको देखिन्छ ।’