‘नेपाल्स चबी मोडल २०१९’ को अन्तिम अडिशन माघ ५ र फिनाले माघ २२ मा हुँदै

नेपालमा नै पहिलोपटक सिद्दि मिडिया प्रालिले आयोजना गरेको ‘नेपाल्स चबी मोडल’ को तेस्रो संस्करण ‘नेपाल्स चबी मोडल २०१९’ को फाईनल अडिशन यही माघ ५ गते शनिबार हुने भएको छ भने उक्त सौन्दर्य प्रतियोगिताको फिनाले यही आउँदो माघ २२  गते मंगलबार राष्ट्रिय नाचघर जमलमा हुने भएको छ l फरक किसिमको सौन्दर्य प्रतियोगिता अनि आफूलाई मोटो छु भनेर आफ्नो प्रतिभा प्रस्फुटन गराउनबाट डराईरहेका महिलाहरुको लागि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरको मन्चमा प्रतिस्पर्धा गराउने उद्देश्यले आयोजना गरिएको ‘नेपाल्स चबी मोडल २०१९’ फरक प्रकारको सौन्दर्य प्रतियोगिता रहेको जानकारी सिद्दि मिडिया प्रालिका प्रबन्ध निर्देशक अमित शाहले दिएका छन् l

देशका विभिन्न जिल्ला तथा प्रदेशबाट अडिशन मार्फत छनोट भएका प्रतिस्पर्धीहरुलाई लिएर हुन लागेको यस सौन्दर्य प्रतियोगितामा बिजेतालाई स्कुटर प्रदान गरिने छ भने स्कुटरको साथमा गिफ्ट ह्याम्पर्सहरु समेत प्राप्त गर्ने आयोजक संस्थाले जानकारी गराएको छ l

उक्त सौन्दर्य प्रतियोगितामा क्षमता भएर पनि सधैं पछि परेका अनि आफ्नो मोटोपनले गर्दा आफूलाई एक्सपोज गर्न डराईरहेका महिलाहरुलाई उनीहरुको क्षमतालाई अभिवृद्धि गर्दै समाजमा सकारात्मक संदेश फैलाउने उद्देश्यले यस प्रतियोगिता गरिएको र यस सौन्दर्य प्रतियोगिताले गर्दा समाज परिवर्तनमा सकारात्मक सन्देश पुग्ने कुरा सिद्दि मिडिया प्रालिका प्रबन्ध निर्देशक अमित शाह बताउछन् l

उक्त प्रतियोगिताको बिजेताले स्कुटर सहित चलचित्र, म्युजिक भिडियो, मिडिया अन्तरवार्तामा समेत सहभागी हुन पाउने भएका छन् l प्रतियोगिताका लागि छननोट भएका चबी सुन्दरीहरुलाई एक महिनासम्म विशेष प्रशिक्षण प्रदान गरिएको छ, ट्रेनरबाट प्रतिस्पर्धीहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन क्लास तथा व्यक्तित्व विकास सम्बन्धी विषयमा प्रशिक्षण समेत प्रदान गरिएको छ । प्रशिक्षणको क्रममा प्रतिस्पर्शीहरुलाई विभिन्न रमणीय स्थानहरुको भ्रमण गराईनुको साथै फोटोसुट पनि गरिएको थियो l अन्य विभिन्न गतिविधिमा समेत संलग्न गराई प्रतिस्पर्धीहरुको चौतर्फी व्यक्तित्व बिकाशमा समेत सहभागी गराइएको जानकारी आयोजक अमित शाहले गराए । उक्त सौन्दर्य प्रतियोगिताको कोरियोग्राफरमा नेपाल्स चबि मोडल २०१८ मा मिस पपुलर टाईटल जित्न सफल सच्चु गुरुङ   तथा नेपाल्स स्टार मोडल २०१८ का सेकेण्ड रनरअप आयुष ठाकुर रहने भएका छन् l