पत्रकार आचारसंहिता डिजीटल संवाद सम्पन्न

रक्षामन्त्री ईश्वर पोखरेलले पत्रकारहरुले सदैव बिषय र मुद्दाको आधारमा ठीकलाई ठीक र बेठीकलाई बेठीक, बस्तुनिष्ठ, गुणदोषको आधारमा छुट्याई जनतामा सत्य कुरा पुर्याउनुपर्नेमा जोड दिएका छन् । प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासंघ काठमाडौ शाखाको संयोजनमा राजधानीमा आयोजित पत्रकार आचारसंहिता डिजिटल संवाद कार्यक्रममा मन्त्री पोखरेलले उक्त कुरामा जोड दिएका हुन् ।

साथै उनले ठूल्ठूला आयोजनामा वस्तुनिष्ठ भन्दा कुनै सेन्टरबाट आएको हावादारी कुरालाई प्राथमिकता नदिऔ । समाज बिकासको क्रममा विभिन्न क्षेत्रमा परेको प्रभाव पत्रकारमा पनि परेको हुन सक्छ भन्ने धारणा राख्दै अहिले प्रणालीमा परिवर्तन, सरकारमात्र होइन शासनसत्ता परिवर्तन भएको अवस्था रहेको प्रष्ट पारेका थिए । प्रेस काउन्सिल नेपालका सदस्य शुभेच्छाबिन्दु तुलाधरले  पत्रकार आचारसंहिता सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रस्तुत कार्यपत्रमा काउन्सिलको संक्षिप्त परिचय, अनुगमनको अवस्था, काम कारबाहीबारे जानकारी, २४ सै घण्टा मिडियाको अभिलेखिकरण र सोको अनुगमन, डिजिटल काउन्सिल बनाउने अभियानमा रहेको जानकारी गराईएको थियो l कार्यक्रममा प्रेस काउन्सिल नेपालका मुख्य अधिकृत झविन्द्र भुसालले प्रेस काउन्सिलको गतिविधि एवं कार्यक्रमको औचित्यबारे प्रकाश परेका थिए ।

प्रेस चौतारी नेपालका उपाध्यक्ष विश्वमणि सुवेदीले प्रेस चौतारी र प्रेस सेन्टरबीच समायोजन भई प्रेस संगठन भैसकेको अवस्था हो, जिम्मेवारी बाँडफाँड मात्र बाँकी रहेको भन्दै श्रमिकमैत्री पत्रकारिता गर्नुपर्ने, श्रमिकमैत्री नभएको हो कि भन्ने आशङ्का भएको धारणा राखेका थिए । उनले अगाडि भने –‘नेपालमा जम्माजम्मी १० हजारको संख्यामा पत्रकार कृयाशील छौं होला, काठमाडौ शाखामा १४ सय सदस्यमध्ये साधारण सभामा डेड सयको हाराहारीमा उपस्तिथि हुनु आश्चर्यलाग्दो कुरा भएको धारणा राखेका थिए ।

सो कार्यक्रममा ३ नम्बर प्रदेश नीति तथा योजना आयोगका सदस्य तथा पत्रकारिता गर्दै आएका श्याम बस्नेत, वरिष्ठ पत्रकार देवेन्द्र चूडाल , लोकतान्त्रिक छापामाध्यम राष्ट्रिय संजालका अध्यक्ष दामोदरप्रसाद दवाडी, प्रेस काउन्सिल सदस्य इश्वरीप्रसाद ओझा , त्रिभुवन विश्वविद्यालयका प्राध्यापक चिरञ्जीवी खनाल, प्रेस काउन्सिल नेपालका सदस्य एवं काठमाडौ शाखाका पूर्व अध्यक्ष गोविन्दप्रसाद चौलागाईं लगायतले पत्रकार आचारसंहिता सम्बन्धी आ–आफ्नो धारणा राखेका थिए ।

नेपाल पत्रकार महासङ्घ काठमाडौ शाखाका अध्यक्ष शन्तराम बिडारीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन  नेपाल पत्रकार महासङ्घ काठमाडौ शाखाका सचिव मोहन पन्तले गरेका थिए ।

– मुनामदन सिलवाल