५१ रुपैया पारिश्रमिकमा निता र निराजन म्युजिक भिडियोमा

५१-५१ रुपैया पारिश्रमिकमा म्युजिक भिडियो निर्माण भयो भन्दा जो कोहीलाई पनि अचम्म लाग्न सक्छ । तर केहीदिन अगाडि मध्यरातमा नक्साल बाल मन्दिरमा एक भिडियो निर्माण हुँदै थियो जहाँ साँच्चिकै कलाकारहरुलाई ५१ रुपैया प्रतिव्यक्ति पारिश्रमिक दिएर छायाङ्कन गरिएको थियो ।

बालमन्दिरमा पछिल्लो समय भारतीय साङ्गीतिक प्रतियोगिता ‘सारेगमप’मा टप ११ सम्म पुगेकी गायिका मेनुका पौडेलको स्वरमा सजिएको गीत ‘रङ्गभित्रको उजाड जिन्दगी’ को भिडियो छायाङ्कन गरिएको हो । मेनुका ‘नेपाल आइडल’ को पहिलो सिजनको समेत टप ११ मा पुगेर बाहिरिइएकी थिइन् । दीपेन्द्र घिमिरेको शब्द रहेको यस गीतमा एसडी योगीको सङ्गीत रहेको छ भने रिकेश गुरुङले सङ्गीत संयोजन गरेका हुन् ।

गीतको भिडियोमा चर्चित नायिका निता ढुंगाना र अभिनेता निराजन प्रधानको अभिनय समेटिएको छ । अनिल के मानन्धरको छायाङ्कन र शान थापाको निर्देशन रहेको यस भिडियोमा सुप्रिम पराजुलीको सम्पादन रहने छ । भिडियोमा संलग्न सबैले जम्मा रु. ५१ पारिश्रमिक लिएका छन् । आखिर ५१ रुपैया मात्र किन त ? भन्ने प्रश्नमा सबैको एकै जवाफ थियो- ‘कुनै काम पैसाका लागि गरिन्छ त कुनै आत्मसन्तुष्टीका लागि । तर यो गीत राम्रो मात्र बनेको छैन यो गीतसँग हाम्रो मन पनि जोडिएकोको छ ।  यो गीतको हिस्सा हुन पाउनु हाम्रो लागि गौरवको कुरा हो । पैसा नै सबै कुरा होइन ।’ भिडियो केही दिनभित्रै सार्वजनिक गरिने कुरा निर्देशक थापाले बताएका छन् ।