नेपाली चेली शृङ्खला ‘मिस वर्ल्ड’को उपाधी नजिक

नेपाल आमाकी छोरी शृङ्खला खतिवडाले ‘मिस वर्ल्ड २०१८’ को उपाधिको अब्बल प्रतिस्पर्धीको रुपमा आफूलाई प्रस्तुत गरेर दुनियाँ चकित पारेकी छिन् । उनी अहिले भोटिङ मार्फत अन्तिम प्रतिस्पर्धीका रुपमा चयन हुने चरणमा पुगिसकेकी छिन् । उनलाई भोट पनि निक्कै आकर्षक रुपमा आइरहेको छ । यो समाचार तयार पार्दा समेत उनी अग्र स्थानमा छिन् । उनी मिस वर्ल्ड २०१८ भएमा उनीसँगै नेपाललाई विश्वले चिन्ने छ ।

अहिलेसम्म यो उपाधिको नजिक नेपालका कोहीपनि पुगेका थिएनन् । कात्तिक २३ गते शुक्रबार ‘मिस वर्ल्ड २०१८’ मा सहभागिता जनाउन चीनतर्फ उड्ने क्रममा शृङ्खलाले त्रिभुवन विमानस्थलबाटै नेपाली झन्डा फहराउँदै एउटा आकर्षक तस्बिर पोस्ट गरिन् ।

उक्त तस्विरले धेरैको मन जितिरहेको छ । तस्बिरसँगै उनले लेखेकी थिइन् – ‘नेपाल ! म तिमीलाई गौरवान्वित बनाउने छु, यो मेरो वाचा भयो अर्थात् नेपाल, आई विल डू यू प्राउड, प्रमिस’ । स्टाटससँगै शृङ्खलाले आफ्नो ‘मिस वर्ल्ड’ को यात्रा प्रारम्भ भएको जानकारी समेत गराएकी छिन् ।

‘मिस वर्ल्ड २०१८’ को निर्णायक प्रतियोगिता अघि विभिन्न युट्युब च्यानलले यो वर्षको सम्भावित विजेताका बारेमा अनुमान लगाउन थालिसकेका छन् । ‘मिस वर्ल्ड’ अन्तर्गतका विभिन्न चरणका प्रतियोगिता सञ्चालन भैरहेका बेला अध्ययनकर्ताहरूले नेपाली चेली शृङ्खलाले मिस वर्ल्डको उपाधि नै जित्न सक्ने अनुमान गरेका हुन् ।

 

कसरी गर्ने भोट ?

शृङ्खलाले आफ्नो फेसबुक पेज मार्फत आफूलाई अनलाइन भोट गर्न सम्पूर्ण नेपालीहरू समक्ष आग्रह समेत गरेकी छिन् । त्यसका लागि मोबाइलमा मोबस्टारको एप डाउनलोड गरेर शृङ्खला खतिवडाको पेजमा गई उनलाई फलो गर्नुपर्ने छ । त्यसपछि उनको पोस्टमा गएर मोबाइलको स्क्रिनलाई देब्रेबाट दाहिनेतर्फ स्विप गर्नुपर्छ । त्यसो गर्नेबित्तिकै ‘यस’ लेखिएको देखिने छ । उक्त शब्द देखिनु भनेकै शृङ्खलाले एकमत प्राप्त गर्नु हो । त्यसका लागि प्रत्येक दिन उक्त एपमा गएर उनका हरेक पोस्टमा कमेन्ट समेत गर्नुपर्ने छ । यसरी भोट गर्दा सबैभन्दा बढी मत पाउने सुन्दरीले ‘मिस वर्ल्ड’ को एउटा महत्वपूर्ण विधा मल्टिमिडियाको उपाधि जित्ने छिन् ।

https://youtu.be/bvu2YcRDaJw