छोराको जीवन रक्षाको लागि बाबुआमाको अपिल

दोलखाको गौरीशंकर गाउँपालिका वडा नं. ४ का विनोद कार्की, जो जन्मजात नै एच.डी. ‘Hirshsprung’s Disease’ रोगसँग लडिरहेका छन् । उनी अहिले १९ वर्षका भए । तर आर्थिक अभावका कारण अहिलेसम्म विनोदको पूर्ण रुपमा उपचार हुन सकेको छैन । उपचार गर्दै जाँदा अहिलेसम्ममा २० लाखको हाराहारीमा खर्च भइसकेको विनोदका बुबा बालकुमार कार्कीले जानकारी गराएका छन् ।

थप उपचारका लागि भारतको गंगाराम अस्पताल लैजान त्रि.वि. शिक्षण अस्पतालका डाक्टरहरुले सल्लाह दिएका भएपनि आर्थिक अवस्था बलियो नभएका कारण समस्या भएको कुरा समेत विनोदका बुबा बालकुमारले बताएका छन् । छोराको उपचारका लागि यथाशक्य आर्थिक सहयोगका लागि समेत उनले सबैसँग अनुरोध गरेका छन् ।

बिनोदका बुबाले भने- ‘’छोराको उपचारको लागि गंगाराम अस्पताल लैजान २०/२२ लाख लाग्ने डाक्टरहरुले बताएका छन् । पछिल्लो समयमा आएर खान लाउनका लागि नै धौधौ परिरहेको समयमा कहाँबाट त्यत्रो ठूलो रकम ल्याउनु ? आफूसँग भएको सबै छोराकै उपचारमा खर्च भइसक्यो ।’ उनले थपे- ‘यस्तो रोग कसैलाई पनि नलागोस् । मेरो छोरा बचाउको लागि सबैलाई सहयोगको अपिल गर्दछु ।’