अभिनेता सरोज खनालको पहलमा चेपाङ संरक्षण केन्द्रलाई चेक हस्तान्तरण

अभिनेता सरोज खनालले आइतबार एक कार्यक्रमबीच चितवनको रत्ननगरमा रहेको ‘गामबेंशीको चेपाङ संरक्षण केन्द्र’ लाई एकलाख एकाउन्न हजार एकसय एकाउन्न  रुपैयाको चेक हस्तान्तरण गरेका छन् । गत अक्टोबर १३ मा केसी डान्स सेन्टरले अमेरिकामा आयोजना गरेको ‘कलिउड नाइट २०१८’ मा सहभागी भएका ‘सुपर मम्’ हरुले सङ्कलन गरेको ७ सय ११ अमेरिकन डलर, महेन्द्र कुँवरबाट प्राप्त ५०० डलर र समाजसेवी श्याम बजिमयबाट प्राप्त १०१ डलर गरी जम्मा भएको रकमबाट नेपाली रुपैया एक लाख एकाउन्न हजार एकसय एकाउन्न रुपैयाको चेक ‘गामबेंशीको चेपाङ संरक्षण केन्द्र’ का अध्यक्ष केपी किरण शर्मालाई हस्तान्तरण गरिएको थाहा भएको छ ।

कार्यक्रममा बोल्दै अभिनेता सरोज खनालले दशैंमा अमेरिका गएको बेला त्यहाँ गरिएको साँस्कृतिक कार्यक्रमबाट उठेको र दाताहरुबाट व्यक्तिगत रुपमा प्राप्त भएको रकम केसी डान्स सेन्टरका संस्थापकद्वय नवीन केसी र लुना श्रेष्ठ मार्फत यस केन्द्रलाई हस्तान्तरणका लागि आफूलाई प्राप्त भएको जानकारी गराएका थिए l ।कार्यक्रममा खनालले चेपाङ बालबालिकाहरुलाई पढेर ठूलो मान्छे बन्नुपर्छ भन्दै शिक्षा भन्दा ठूलो केही नहुने धारणा राखेका थिए l उनले चेपाङ बालबालिकाहरुको शिक्षाका लागि आर्थिक सहयोग गर्ने संस्था र व्यक्तिहरुलाई समेत धन्यवाद दिएका थिए । समारोहमा गामबेंशीको चेपाङ संरक्षण केन्द्रका अध्यक्ष केपी किरण शर्माले यसरी नै विभिन्न व्यक्तिको सहयोगले यो केन्द्र यहाँसम्म आएको भन्दै सहयोग गर्नेहरुप्रति आभार प्रकट गरेका थिए l केन्द्रमा हाल १३२ जना चेपाङ बालबालिकाहरुलाई आवासीय सुविधा सहित शिक्षा प्रदान गरिंदै आएको र हालसम्म करिब ४०० भन्दा बढी चेपाङ बालबालिकाहरुलाई शिक्षा दिएको कुरा समेत उनले जानकारी गराएका छन् ।
कार्यक्रममा  स्कुलका हेडमाष्टर राम बहादुर थापा मगर, समाजसेवी हरि केसी, पत्रकार रवि रोजी लगायतको उपस्थिति रहेको थियो । सो कार्यक्रममा चेपाङ बालबालिकाहरुले आफ्नो समुदायको निकै मार्मिक गीत सुनाएका थिए ।