अमेरिकामा छक्का पन्जा – ३ ले बनायो नयाँ रेकर्ड

दीपाश्री निरौलाद्वारा निर्देशित नेपाली कथानक चलचित्र ‘छक्का पन्जा’ ले नेपालमा झैं अमेरिकामा पनि प्रदर्शनको नयाँ रेकर्ड बनाएको समाचार प्राप्त भएको छ l संचारकर्मी विधान कार्कीले दिएको जानकारी अनुसार यसअघि अमेरिकामा प्रदर्शन गरिएका ‘छक्का पन्जा’-१ र २ तथा लुट-२ तीन हप्तासम्म चलेको रेकर्ड तोड्दै ‘छक्का पन्जा-३’ लगातार १ महिनासम्म चलिरहेको छ भने अझै चल्ने सङ्केत देखिएको छ l हालसम्म डालसमा मात्रै सफल रुपमा ६४ शो सम्पन्न भईसकेको र अझै प्रदर्शन भैरहने जानकारी डालसका लागि अधिकारिक वितरक नेप्सिने र प्लानेट थ्री फिल्मस्ले जनाएको कुरा पत्रकार कार्कीले जानकारी गराएका छन् । नेपाली सिनेमाका लागि अमेरिकालाई सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय बजारका रुपमा हेर्ने गरिएको छ भने ‘छक्का पन्जा-३’ को यो सफलताले नेपाली सिने उद्योगलाई नै सकारात्मक सन्देश दिएको कुराको चर्चा  चलचित्र नगरीमै चल्न थालेको छ l यो चलचित्र अहिले नेपालीहरुको बाक्लो बसोबास रहेको डालस र टेक्सासमा चलिरहेको थाहा भएको छ l
डालसका लागि अधिकारक वितरक एवं गतवर्ष सम्पन्न ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ मा उत्कृष्ट ‘डायस्पोरा वितरक’ को अवार्ड हात पार्न सफल कम्पनी नेप्सिनेका सीइओ रायन रेज भन्छन् – ‘चलचित्र ‘छक्का पन्जा -३’ को सफलताले हामी नेपाली चलचित्र प्रदर्शकहरुलाई नयाँ हौसला मिलेको छ र यसले नेपाली चलचित्रको बिदेशी बजारमा दीर्घकालीन प्रभाव पार्ने छ ।’
चलचित्र ‘छक्का पन्जा ३’ मा दीपकराज गिरी, केदार घिमिरे, दीपिका प्रसाई, जितु नेपाल, नीर शाह, वुद्दि तामाङ लगायतका कलाकारको अभिनय रहेको छ ।