होचा पुड्का सङ्घको देउसी भैलो कार्यक्रम

‘नेपाल होचा पुड्का सङ्घ’ ले गत सोमबारबाट देउसीभैलो कार्यक्रम सुरु गरेको छ । नेपालीहरुको देस्रो महान चाड तिहारको संस्कृति जोगाउन र राष्ट्रिय सम्मेलनको सहयोगार्थ रकम सङ्कलनका गर्न देउसीभैलो कार्यक्रम आयोजना गरिएको कुरा सङ्घका अध्यक्ष निर्मल मगरातीले जानकारी गराएका छन् ।

‘होचा पुड्काको एकता, आजको आवश्यकता, सार्थक र चेतनामूलक कलाकारिता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ उनीहरुले काठमाण्डौको भृकुटीमण्डपबाट देउसीभैलो खेल्न सुरु गरेका हुन् । लगातार पाँच दिनसम्म फरक फरक ठाउँमा देउसीभैलो खेलिने बताईएको छ । कार्यक्रम पर्यटन व्यवसायी गोपाल बाबु श्रेष्ठको प्रमुख आतिथ्यमा सुरु गरिएको थियो ।

शारीरिक रुपले होचा र पुड्का भएपनि अरुहरुको भन्दा आफूहरुको प्रतिभा कम नरहेको समेत सङ्घका अध्यक्ष मगरातीले जानकारी गराए ।

संस्थाका महासचिव लेख बहादुर मोक्तानले देउसी भैलोबाट उठेको रकमले राष्ट्रिय सम्मेलन गर्ने र काठमाडौमा कोहिपनि नभएका होचा पुड्कालाई सहयोग गर्ने बताए । काठमाडौमा कोहिपनि नभएका होचा पुड्कालाई गोलढुंगामा बसोबासको व्यवस्था मिलाईसकेको समेत बताउँदै गराउंदै  उनीहरुको हकहित सुरक्षित गर्न कल्याणकारी कोषको स्थापना गर्ने समेत उनले जानकारी दिए ।

कार्यक्रमका बिशेष अतिथि समाजसेवी विनयजंग बस्नेतले होचा पुड्काहरुलाई हाँसोको पात्रको रुपमा चित्रण गर्ने मानसिकता त्याग्दै उनीहरुभित्र लुकेर बसेको प्रतिभालाई प्रष्फुटन गर्नुपर्नेमा जोड दिए । उनले आगामी दिनमा होचा पुड्काहरुको लागि सरकारले आरक्षणको व्यवस्था गर्नुपर्ने समेत बताए । कार्यक्रममा बोल्दै अर्का अतिथि नेपाल मेडिकल व्यवसायी संघका अध्यक्ष सीताराम रेग्मीले १सय ५५ वटा मेडिकलमा होचा पुड्काको लागि नि:शुल्क औषधि र स्वास्थ्य चेकजाँचको व्यवस्था गरिएको जानकारी दिए ।

कार्यक्रममा गणेश गुरुङ, सुमन परियार, वेलिमाया गोर्खाली, मिना थापा मगर, मनमोहन बिक, यादब पोखरेल, प्रितम थापामगर, गणेश परियार लगायतले बाद्यवादन तथा गायन सहित विभिन्न प्रस्तुति दिएका थिए । होचापुड्का संघका सदस्यले कलाकारको प्रस्तुतिमा आकर्षक नृत्य गर्दै कार्यक्रमको माहोल तताएका थिए । संघले आगामी बर्षमा पनि देउसी भैलो कार्यक्रमलाई निरन्तरता दिने बताएको छ ।