पावर ईन्टरनेशनल मिडिया नेपाल (पिम नेपाल) को आयोजनामा स्रष्टा सम्मान तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ । नजिकिंदै गरेको दशैं, तिहार तथा छठ पर्वको अवसर पारेर काठमाण्डौको रातोपुलस्थित रक हाउस क्याफेमा आयोजना गरिएको सो समारोहमा फरक क्षेत्रमा सेवारत पाँच व्यक्तिहरुलाई सम्मान गरिएको थियो भने कार्यक्रममा पावर ईन्टरनेशनल मिडिया (पिम नेपाल) को लोगो समेत सार्वजनिक गरिएको छ ।
समारोहमा करिव दुई दशकदेखि निरन्तर गायन क्षेत्रमा सक्रिय रहँदै आएका कलाकार कन्हैया सिंह परियार, नेपालमा पहिलोपटक मुआ थाई बक्सीङ् भित्र्याएर खेल क्षेत्रमा सह्रानीय काम गर्न सफल नमराज भण्डारी, एकसय ८ अनाथ तथा असहाय बालबालिकाहरुको संरक्षण गर्दै उनीहरुको उज्ज्वल भविष्यको लागि सक्रिय रहेकी समाजसेवी महिमा पोखरेल, विकट हिमाली जिल्ला सोलुखुम्बूको सोलूमा रहेर समाज सेवा गरिरहेका फुनुरु शेर्पा र नेपाली चलचित्रमा छुट्टै पहिचान बनाएकी नायिका एवं पछिल्लो समयमा ‘वराङ्गना’ नामक उपन्यास बजारमा ल्याएर नेपाली साहित्यमा समेत योगदान पुर्याएकी शोविता सिंखडा गरी पाँच जनालाई सम्मान गरिएको थियो ।
सम्मानित हुनेहरुको प्रतिनिधित्व गर्दै गायक कन्हैया सिंह परियारले विदेशिने सबैलाई पलायन भएको भन्ने गरिएकोमा असहमति जनाउँदै संसारमा जहाँ बसेपनि आफ्नो कर्मलाई निरन्तरता दिईरहेका र मुलुकका लागि केही गरिरहेका व्यक्तिहरुलाई ‘पलायन भयो’ भन्नु गलत कुरा भएको विचार राखेका थिए । पलायन हुन विदेश नै जान नपर्ने धारणा राख्दै उनले भने -‘स्वदेशमै पनि कैयौं व्यक्तिहरु पलायन भएका छन् । कर्मशीलहरु कहिल्यै पनि पलायन हुँदैनन् ।’
विगत १२ वर्षदेखि मिडिया एण्ड ईन्टरटेनमेन्ट प्रा.लि. ले गर्दै आएका सम्पूर्ण कार्यहरु अब उप्रान्त पिम नेपाल मार्फत गरिने पिमका अध्यक्ष माधव राज खरेलले जानकारी दिएका छन् । उनले भने – ‘अब उप्रान्त मिडिया एण्ड ईन्टरटेनमेन्ट प्रा.लि. कार्यक्रम व्यवस्थापकको रुपमा पिम नेपालकै साथमा रहने छ ।’
कार्यक्रममा पूर्व कानुन मन्त्री शेर बहादुर तामाङ प्रमुख अतिथिका रुपमा उपस्थित थिए भने पत्रकारहरु शान्तिप्रिय, भरत बमजन, गीता अधिकारी, राज लुईटेल, तुलसी गिरी ‘भावुक’, अर्जुन बहादुर तामाङ, राजन थापा, पुरुषोत्तम सानु, दीपक पाठक, कलाकार श्रीदेव भट्टराई, व्यवसायी अमिर न्यौपाने, सङ्गीतकार सन्तोष श्रेष्ठ, गीतकार डि. आर., गायिका पशुपति ताम्राकार लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पूर्वमन्त्री तामाङले यसरी फरक क्षेत्र र पेशाका व्यक्तिहरुलाई सम्मान गर्ने पिम नेपालको कार्य सह्राहनीय रहेको बताए । कार्यक्रममा विषेश अतिथिको आसनबाट बोल्दै पत्रकार एवम् गीतकार शान्तिप्रियले सम्मानित हुने सबै व्यक्तिहरु साँच्चि नै सम्मानका योग्य रहेको र यस सम्मान कार्यक्रमले उनीहरुलाई आ-आफ्नो क्षेत्रमा उदाहरणीय काम गर्न हौसला मिल्ने बताए । कार्यक्रम सञ्चारकर्मी निराजन भण्डारीले सञ्चालन गरेका थिए ।