रोमानियाको बुखारेष्ट शहरका लागि नेपाली अवैतनिक वाणिज्यदूतमा नवराज पोखरेल नियुक्त

सेप्टेम्बर १५, बर्लिन । रोमानियाको बुखारेष्ट शहरका लागि नेपाली अवैतनिक वाणिज्यदूतमा नवराज पोखरेललाई नियुक्त गरिएको छ । नेपाल सरकारले नवराज पोखरेललाई रोमानियामा ब्यापार, ब्यवसाय, पर्यटन, अध्ययन  तथा भ्रमण लगायतका अन्य बिभिन्न उद्देश्यबाट बसोबास गर्दै आएका नेपालीहरुको हकहित संरक्षण गर्न र उनीहरुलाई कानूनी एवम् ब्यापारिक बिषयहरुमा सहयोग प्रदान गर्न बुखारेष्ट शहरलाई कार्य क्षेत्र बनाई अवैतनिक बाणिज्यदूतको पदमा नियुक्त गरेको हो ।

नेपाल सरकारको तर्फबाट सो पदको नियुक्ति पत्र, नेपाली झण्डा र अन्य सबै आधिकारिक कागजात जर्मनीका लागि नेपाली राजदूत रमेश प्रसाद खनालले बर्लिन स्थित नेपाली राजदूताबासमा शुक्रबार हस्तान्तरण गर्नुभएको थियो । नव नियुक्त पोखरेलले अवैतनिक वाणिज्यदूतमा नियुक्त भएसँगै सरकारले आफूलाई प्रदान गरेको यो अवसरप्रति आभार गर्नुभएको छ ।

सन २००९ देखि नै रोमानियामा अवैतनिक वाणिज्यदूतको आवश्यकता देखी सिफारिस गर्ने रसियाका तत्कालिन नेपाली राजदूत सूर्य किरण गुरुङ, यसको पहल गर्ने राजदूतहरु डा. रवि मोहन सापकोटा, मोहन कृष्ण श्रेष्ठ, ऋषिराम घिमिरे र गैरआवासीय नेपाली संघका तर्फबाट संरक्षक राम प्रताप थापा, आईसीसीका पूर्व अध्यक्ष देवमान हिराचनप्रति पोखरेलले आभार प्रकट सहित धन्यबाद ज्ञापन गर्नुभएको छ ।

खोटाङ जिल्लाको सावा कटहरेमा २०१९ सालको चैत मसान्तमा जन्मनुभएका पोखरेलले खोटाङ, भोजपुर र झापाबाट आफ्नो माध्यमिक स्तरको शिक्षा हासिल गर्नुभएको थियो भने उच्च शिक्षाको शुरुआत त्रि-चन्द्र र अमृत साइन्स क्याम्पस काठमाडौंबाट गर्नुभएको हो । सन् १९८६ मा उहाँलाई रोमानियाको बुखारेष्ट युनिभर्सिटीबाट पत्रकारिता बिषयमा छात्रवृत्ति प्राप्त भएको थियो । त्योबेला युनिभर्सिटी टप गर्नुभएका पोखरेलले केही समय पछि वातावरण संरक्षणमा पनि स्नातकोत्तर गर्नुभएको थियो ।