सुरेन्द्र महर्जन “अमर” सृजना साँझ-२०७५ सम्पन्न

तीन दशकभन्दा लामो समयदेखि नेपाली भाषा, साहित्य र चित्रकला क्षेत्रमा समर्पित कवि, गीतकार, चित्रकार, गायक एवं साहित्यकार सुरेन्द्र महर्जन “अमर” को एकल सिर्जना साँझ सम्पन्न भएको छ । ‘सुरेन्द्र महर्जन ‘अमर’ सिर्जना साँझ-२०७५’ शीर्षक दिईएको सो कार्यक्रम ओ.एस. नेपालको प्रस्तुतिमा सुमेरु मार्ट सातदोबाटो, ललितपुरमा आयोजना भएको थियो । कार्यक्रममा बिभिन्न गायक/गायिकाहरूले सुरेन्द्र महर्जन”अमर” द्वारा रचना गरिएका एक दर्जनभन्दा बढी गीतहरू प्रस्तुत गरेका थिए भने ‘अमर’ द्वारा रचना गरिएका गीतका भिडियो समेत प्रदर्शन गरिएको थियो । यसैगरी समारोहमा सुरेन्द्र महर्जन”अमर” ले बनाएका चित्रहरुका साथै रचित एवं स्वरवद्ध गीत, कविता, हाइकु, तान्का, मुक्तक र उपन्यासका पंक्तिहरू पनि प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा एन शाक्य, सङ्गीता रायमाझी, सोनी राजभण्डारी, राजु श्रेष्ठ, सुरेन्द्र महर्जन, मुना रोक्का, बबी दाहाल लगायत एक दर्जनभन्दा बढी गायक/ गायिकाहरूले सुरेन्द्रका लोकप्रिय गीतहरु गाएका थिए । यसैगरी सुरेन्द्रले बनाएका चित्रहरु समेत कार्यक्रम स्थलमा प्रदर्शनी गरिएको थियो ।

कार्यक्रममा, गीतकार एवं पत्रकार पुष्पराज बुढाथोकी “साँउतेली” ले ‘अमर’ लाई कहिल्यै नथाक्ने सर्जकको रुपमा आफूले चिनेको बताएका थिए भने कार्यक्रम आयोजक संस्था ओ.एस. नेपालका विवेक कार्कीले पनि ‘अमर’ प्रति लक्षित गर्दै ‘जो हार्दैन उसैले बाजी जित्छ’ भन्ने धारणा राखेका थिए । प्राप्त जानकारी अनुसार सुरेन्द्र महर्जन ‘अमर’ ले निर्माणाधीन गीति चलचित्रमा समेत अभिनय गरेका छन् । ‘ओ.एस नेपाल लाइफ टाइम एचिभेन्ट अवार्ड-२०७४’ बाट सम्मानित सुरेन्द्रले समारोहमा चाँडै १९ औं कृति लिएर पाठकमाझ प्रस्तुत हुने कुरा समेत जानकारी गराएका छन् ।