बेल्जियममा नेपालको प्रस्तुति

जब चन्द्रसूर्य अङ्कित राष्ट्रिय झन्डाका साथमा दौरा सुरुवाल, ढाका टोपी साथै गुन्यु चोलीमा सजिएर नेपाली कलाकार टोली स्टेजमा उक्लन्छन् तब दशौँ हजार दर्शकको तालीको गडगडाहट सुरु हुन्छ । यसरी सम्मान पाउँदा कलाकारहरुले नेपाली हुनुमा गैरवान्वित महसुस गर्दछन् । यो दृश्य हालै बेल्जियममा सम्पन्न अन्तर्राष्ट्रिय ‘लोक साँस्कृतिक मेला २०१८’ को हो । बेल्जियमको पर्यटकीय शहर नामुरमा अगष्ट १७ देखि २१ सम्म सम्पन्न भएको 58th International Folklore Festival मा ‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले गौरवमय प्रदर्शन गरी नेपाल फर्केको छ । बेल्जियममा आयोजित मेलाको सम्पूर्ण प्रचार-प्रसार सामग्रीमा नेपाली कलाकार र नेपाली मौलिकतालाई प्राथमिकताका साथ प्रचार-प्रसार गरिएको थियो ।

सो अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलामा नेपाल सहित बेल्जियम, जर्जिया, इटली, कोलम्बिया, इजिप्ट र केन्याको साँस्कृतिक समूहले भाग लिएको थियो भने नेपालको तर्फबाट ‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’ सहभागी थियो । टोली ग्रुपका प्रमुख रामचन्द्र कोईरालाको नेतृत्व तथा ग्रुपका निर्देशकद्वय शितल आचार्य र मिरज कोईरालाको निर्देशनमा त्यसतर्फ गएको थियो । टोलीले मेलामा झ्याउरे, तामाङ सेलो, झोडा नाच, सतार नाच, सेब्रु नाच, धिमाल नाच, यति नाच र सोरठी लगायत नेपालको परम्परागत लोक संस्कृति झल्काउने नृत्यहरुको प्रस्तुति दिएको थियो ।

भ्रमण टोलीमा नृत्यतर्फ रुपिन डङ्गोल, भवानी कोईराला, उदिराम खड्का, राजु गिरी, प्रमिल रिजाल, अनिता अधिकारी, गौरी ढकाल कोईराला, सुमित्रा तामाङ तथा वाद्यबादक तथा गायक गायिकातर्फ वरिष्ठ बाँसुरीवादक राम बहादुर भुजेल, वरिष्ठ वाध्यबादक धनेश्वर तिवारी, वरिष्ठ लोकगायक चन्द्र शर्मा, गायिका रिता बुढाथोकी भुजेल र गायक अर्जुन सुनाम सहभागी थिए ।

सोही अवसरमा ‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’का निर्देशकद्वय शितल आचार्य (सीता) तथा मिराज कोईरालाले नामुरका गभर्नर तथा नगरपालिकाका प्रमुखका साथै कार्यक्रम आयोजकहरुसँग भेटी नेपालमा साँस्कृतिक पर्यटन प्रवर्धन गर्न सकिनेबारे र भविष्यमा यस सम्बन्धी विशेष कार्यक्रम सरकारी तथा गैरसरकारी निकायहरुको सहयोगमा गर्न सकिने कुरा जानकारी गराउनुभएको थियो ।