विगत केही समयदेखि अमेरिकामा बसोबास गर्दै संचार क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल किशन रेग्मीले पछिल्लो समयमा गायकको परिचय पनि बनाएका छन् । केही समय अघि प्रकाशित ‘कान्छि हे कान्छि’ बोलको गीतबाट उनले गायकको नयाँ परिचय बनाएका हुन् । अहिले उक्त गीत परिमार्जन सहित रिमिक्स भर्सनमा भिडियोमा सार्वजनिक भएको छ । यसअघि उनले उद्धव सिलवाल प्रोडक्सनको ब्यानरमा युएस मिडियासँग सहकार्य गरी सो गीतको अफिसियल भिडियो ल्याएका थिए । जुन गीतलाई युट्युबका स्रोता-दर्शकले रुचाएका थिए ।
दर्शकको राम्रो प्रतिकृया पाएपछि उत्साह जागेको बताउँदै गीतलाई परिमाजन गरी फाष्ट बिटमा रेकर्ड गरेर पुनः डान्सिङ भिडियो निर्माण गरिएको कुरा गायक किशनले जानकारी गराएका छन् । क्रु वाईल्ड स्टेपर्सले भिडियो निर्माण गरेको छ भने छमछमी सिजन वानका उत्कृष्ट दश प्रतिस्पर्धी मध्येका एक विक्रम विकले भिडियोमा डान्स गरेका छन् । जसमा उनलाई मोडल तथा डान्सर आरजु उप्रेतीले साथ दिएकी छिन् । झापाका रमणीय स्थानहरुमा छायांकन भएको यस भिडियोमा स्वयं गायक किशनलाई पनि देख्न सकिने छ । प्रल्हाद रिजालको शब्द तथा एसडी योगीको संगीत रहेको गीतमा गायक किशनलाई गायिका श्रृति योगीले साथ दिएकी छिन् । पहिलो गीतले लोकप्रियता दिलाएपछि पुनः दोस्रो गीत पनि रेकर्ड गरेका किशनले सो गीत तीजपछि लगत्तै सार्वजनिक गरिने बताएका छन् ।
