सम्पदा र विमल भए ‘चितवन प्लस टु अफ द ईयर २०१८’ का विजेता

सम्पदा अमगाई तथा विमल अमगाई ‘चितवन प्लस टु अफ द ईयर २०१८’ को विजेता बन्न सफल भएका छन् । टप वान मिडिया प्रा.लि. चितवनको आयोजना तथा इन्स्पायर एजुकेशन एकेडेमीको मुख्य प्रायोजनमा “चितवन प्लस टु अफ द ईयर २०१८” को ग्राण्ड फिनाले भब्य रुपमा सम्पन्न भएको हो । यस सौन्दर्य प्रतियोगितामा महिलातर्फ फर्ष्ट रनरअपमा गीता शर्मा तथा सेकेण्ड रनरअपमा ज्योति खड्काले ताज जित्न सफल भएका थिए भने पुरुषतर्फ राजेश सुनार फर्ष्ट रनरअप भएका छन् ।

चितवनको नारायणगढमा सम्पन्न भएको यस सौन्दर्य प्रतियोगिताका विजेताहरुलाई भविष्यमा आयोजना हुने राष्ट्रिय स्तरका विभिन्न प्रतिस्पर्धाहरुमा प्रतिनिधित्व गराईने कुरा टप वान मिडिया प्रा.लि.का प्रवन्ध निर्देशक रब्स सापकोटाले बताएका छन् ।

प्रतियोगिताका विजेताले नगद रु. १०,०००/- ( दश हजार ) सहित क्राउन, ट्रफि र गिफ्ट लगायतका पुरस्कार प्राप्त गरेका थिए भने उनीहरुलाई चलचित्र, म्युजिक भिडियो र मिडिया अन्तरवार्तामा समेत सहभागी गराई क्षमता प्रष्फुटनका लागि अभिप्रेरित गरिने कुरा आयोजक तथा कार्यक्रम निर्देशक सरिता आचार्य बताउँछिन् ।

प्रतिस्पर्धामा संचारकर्मी सूर्य चन्द, नायक दिवस धिताल, मोडल चन्दा ढुंगाना तथा निर्माता निर्देशक दीपक खाँड निर्णायक रहेका थिए ।

प्राप्त जानकारी अनुसार प्रतियोगीहरुलाई एक महिनासम्म विशेष प्रशिक्षण प्रदान गरिएको थियो । राजेश कुमाल, सिर्जना गिरी र अस्मिता नेपालीले प्रतिस्पर्धीहरुलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकास, आत्मविश्वास अभिवृद्धि र मोटिभेशन सम्बन्धी विषयमा प्रशिक्षण दिएको कुरा आयोजक रब्स सापकोटाले जानकारी गराएका छन् । कार्यक्रमको संचालन आरजे रामकान्त पौडेलले गरेका थिए l