ईटहरी/ यही आउँदो भाद्र १ गते देशभरका हलहरुमा एकैसाथ प्रदर्शनको तयारीमा रहेको सेक्स मनोविज्ञान सम्बन्धी पहिलो नेपाली चलचित्र हो ‘मिष्टर भर्जिन’ । प्रमोशनका लागि पूर्वमा आईपुगेका चलचित्रका नायक कमलमणि नेपाल (खुपिका बाउ), नायक गौरव पहारी, नायिका मरिश्का पोखरेल र निर्माता प्रजापति शिवाकोटीले चलचित्रमा यौन कुण्ठालाई कलात्मक रुपमा प्रस्तुत गरिएको जानकारी दिए । हेर्नुस् फिल्मका मुख्य कलाकारहरु गौरव पहारी, मरिष्का पोख्रेल, कमलमणि नेपाल र निर्माता प्रजापति शिवाकोटीसँग गरिएको रमाईलो गफ ।
यौनका विषयमा बनेको चलचित्र भएपनि छाडा नभएर यौनका विषयमा जानकारीमूलक र हास्यप्रधान रहेको समेत चलचित्र प्रमोशन टोलीले पत्रकार सम्मेलनमा जानकारी दिएको छ । नजिकिदै गरेको प्रदर्शन मितिलाई मध्यनजर गर्दै अहिले ‘मिस्टर भर्जिन’ टिम देशव्यापी प्रचारप्रसारमा दौडधुप गरिरहेको छ । यसैक्रममा चलचित्र ‘मिस्टर भर्जिन’ टिमले पूर्वको यात्रालाई सफल बनाउन ईटहरीमा पत्रकार सम्मेलन र हजारौं दर्शकमाझ ‘रोड शो’ गरेको थियो ।
चलचित्रका मुख्य कलाकार कमलमणि नेपालले ‘मिष्टर भर्जिन’ नाम सुन्दा अनौठो लागेपनि पारिवारिक वातावरणमा हेर्न सकिने जानकारी गराउंदै यौन मनोविज्ञानमा आधारित यस चलचित्रले, यौन मानवीय जीवनमा नित्तान्त आवश्यक हुन्छ, यसलाई आफूले कसरी लिने भन्ने कुरामा भर पर्छ’ भन्ने सन्देश दिन खोजेको जानकारी गराएका छन् ।