• नेपालका पहिलो नायिकाहरु अभिनित तीजगीत सार्वजनिक

नेपाली हिन्दू महिलाहरुको महान चाडको उपमा पाएको तीजको अर्को पक्ष भनेको गीत सङ्गीत हो । यसैलाई लक्ष्यित गरी विभिन्न सर्जकहरुले तीज गीतहरु बजारमा ल्याईरहेका छन् यतिबेला । यसै मेसोमा सञ्चारकर्मी गीता अधिकारीको ‘यतै घमाइलो उतै घमाइलो’ तीजगीत सार्वजनिक भएको छ । राजधानीमा सोमबार एक कार्यक्रमको आयोजना गरी मिलाप मासिकको प्रस्तुति रहेको तीजगीत ‘यतै घमाइलो उतै घमाइलो’ सार्वजनिक गरिएको हो ।

पहिलो महिला सभामुख ओनसरी घर्तीको प्रमुख आतिथ्यमा सार्वजनिक गरिएको कार्यक्रममा गीत निर्माणमा सहयोग पुर्याउने विभिन्न व्यक्तिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा घर्तीले गीतको तारिफ गर्दै गीतकार गीता अधिकारी र गायिका सारिका घिमिरेले जागरण तथा सन्देशमूलक तीजगीत ल्याएको बताइन् । त्यस्तै नेपाल पत्रकार महासंघ काठमाडौंका अध्यक्ष शान्तराम विडारी, चलचित्र पत्रकार संघका पूर्व अध्यक्ष शान्तिप्रिय, वरिष्ठ कलाकार मोहन निरौला, लय संग्रौला, उत्तम केसी, सङ्गीतकार राजु सिंह लगायतले शुभकामना मन्तव्य दिएका थिए । सञ्चारकर्मी राधिका अधिकारीले सहजीकरण गरेको कार्यक्रममा गीतकार गीता अधिकारीले आफूले पहिला पनि गीत, कविता लेख्दै आएको भएपनि यो पहिलो तीजगीत हो भन्दै सबैको साथ सहयोग पाउँनेमा आफू आशावादी रहेको बताइन् । कला, साहित्य क्षेत्रका व्यक्ति र सञ्चारकर्मीहरुको बाक्लो उपस्थिति रहेको कार्यक्रमको आयोजना मिलाप मासिकले गरेको थियो ।

भिडियोमा नेपालकी पहिलो नायिका भुवन चन्द, पहिलो रङ्गीन चलचित्र कुमारीकी नायिका चैत्यदेवी, पहिलो हास्य अभिनेत्री बसुन्धरा भुसाल, नायिका रुपा राना, सारिका घिमिरे लगायतको अभिनय रहेको छ । सारिका घिमिरेको स्वरमा रहेको यस गीतमा दीपक शर्माको सङ्गीत, सुदिप सागरको सङ्गीत संयोजन, साजन शाहको ध्वनि मिश्रण रहेको छ भने भिडियोलाई युवराज वाइबाले निर्देशन गरेका हुन् । भिडियोको छायांकन/सम्पादन वीरेन्द्र भाट ‘विपिन’को रहेको छ ।वर्ल्ड कभर मिडिया प्रा.लि.को पोष्ट प्रोडक्सन रहेको गीतको भिडियोमा मनिता गहतराजको कोरियोग्राफी, राम सिंह भाटको सह सम्पादन, विनोद दाहालको श्रृङ्गार र गीता तामाङको केश सञ्जा रहेको छ ।
https://www.youtube.com/watch?v=zypfe24Dyac