आफूलाई भयङ्कर ठान्ने तर सिन्को नभाँच्ने प्रवृत्तिका अल्छेहरुले कुरा काट्दा काट्दै, नपत्याउँदा नपत्याउँदै रोयल्टी व्यवस्थापनको क्षेत्रमा धेरै ठूलो प्रगति भईसकेको छ l कतिपय क्षेत्रबाट रोयल्टी उठ्न पनि थालिसकेका छन् भने कतिपय क्षेत्रबाट रोयल्टी उठाउन कानुनी सहजताका लागि भईरहेका प्रयासहरु अन्तिम चरणमा पुगेका छन् l उत्पादक समाजमा निर्मलराज ढकाल र सङ्गीत उद्योग सङ्घमा सूर्य बहादुर मगर अध्यक्षमा निर्वाचित भएर आएसंगै पूर्व समयमा रोयल्टीसंग सम्वन्धित संस्थाहरुबीच रहेका अविश्वास, असमझदारी र मतभिन्नताहरु समाप्त मात्र भएका छैनन् आन्तरिक नीति तथा कार्ययोजना निर्माण, जिम्मेवारी बांडफांड र मिसनको पहलकदमीमा समेत भाइचारा देखिएको छ भने रोयल्टीको अभियानले पनि गति लिएको छ l फलस्वरूप आगामी एक-डेढ बर्षभित्रै सबै क्षेत्रबाट रोयल्टी उठाउन सुरु गर्ने लक्षका साथ काम अगाडि बढिरहेको छ l गन्तव्य अब धेरै टाढा छैन l अहिलेकै आत्मविश्वास र रफ्तारमा काम हुँदै जाने हो भने अबको ४-५ वर्षमा रोयल्टीकै कारण मात्र पनि नेपाली सङ्गीतकर्मीहरुको आर्थिक हैसियत लोभलाग्दो हुने अनुमान गर्न सकिन्छ l
सङ्गीत क्षेत्रमा सबैभन्दा बढी नाम र दाम कमाउने गायक-गायिका नै हुन् l उनीहरुको २ वटा हैन तीनवटा हातमा लड्डु पर्दै आएको छ l गीत चलोस-नचलोस गाएको बेला पारिश्रमिक, स्टेजमा पारिश्रमिक अनि फेरि रोयल्टीको हिस्साले गर्दा चलेका कलाकारहरु मालामाल छन् र अझ हुनेछन् l उनीहरु स्वदेश-विदेशका स्टेज चहारीराख्ने भएकोले रोयल्टीको विषयमा सहजकर्ताको सबैभन्दा राम्रो विकल्प पनि उनीहरु नै हुन सक्दछन् l तर दुर्भाग्य ! आयोजक-प्रायोजकहरु समक्ष उनीहरु रोयल्टीको सम्वन्धमा ‘र’ पनि उच्चारण गर्दैनन् l
केही क्षेत्रबाट रोयल्टी उठेसंगै उठाउन जति गारो छ त्यसलाई न्यायोचित ढङ्गले समयमै वितरण गर्न त्यो भन्दा झन् कठिन छ भन्ने कुरा स्पष्ट भईसकेको छ l उठेको रोयल्टी सहज रुपमा समयमै वितरण गर्नका बनाईने नीति, मोडल र मापदण्ड त्यो बेलासम्म पर्याप्त हुन्नन् जबसम्म वितरण प्रक्रियाका लागि उपयुक्त शफ्टवेयरको प्रयोग गरिन्न l हजारौं स्रष्टाका लाखौँ गीत अनि फरक फरक क्षेत्रबाट आएका रोयल्टीको डाटा औंलाले गनेर हिसाव निकाल्न पक्कै पनि सकिन्न l सङ्कलन सँगसँगै वितरण प्रक्रियाका लागि पनि पूर्व तयारी आवश्यक देखिन्छ l