ईंटहरी / समग्र देशको एउटा चम्किलो गहना हुन् पूर्वेली लोक गायिका गंगा गौतम । लोकगीतको माध्यमबाट आफूलाई देश तथा विदेशसम्म परिचित गराउन सफल गायिका गंगा गौतम अहिले निकै व्यस्त देखिन्छिन् । देशभित्र भईरहने कन्सर्ट तथा महोत्सवमा समेत व्यस्त रहेकी गौतम अहिले तीज विशेष कार्यक्रमको तयारीमा निकै व्यस्त छिन् । तीजको गीत सार्वजनिक गरेसँगै मिडियामा उनको उपस्थिति पनि बिस्तारै बाक्लिदै छ । भर्खरै सार्वजनिक एक अन्तरवार्तामा उनले प्रस्तोतासँगै दोहोरी समेत खेलेकी छिन् । हेर्नुस् यो रमाईलो भिडियो अन्तरवार्ता ।
हिन्दू महिलाहरुको महान चाड हरितालिका तीज पनि नजिकिदै छ । यही तीज विशेष चहलपहल भईरहँदा नेपाली गीत-सङ्गीत क्षेत्र पनि अहिले तीज विशेष गीत मार्फत तातिरहेको छ । गीत-सङ्गीत मार्फत आफ्ना भावनाहरु चेलीहरुले माइतीसामु साटासाट गर्ने अनि माइती-चेली सँगै बसेर मीठा-मीठा परिकारसँगै रमाइलो गर्ने साथै आमा दिदी-बहिनीहरुले व्रत बस्ने भएकाले पनि हरितालिका तीज अन्य चाडपर्व भन्दा अलिक पृथक छ । गायिका गौतम समाजका यथार्थतालाई गीति भावमा चित्रण गर्न निकै माहिर छिन् ।
स्टेजमा लाइभ दोहोरी गाएर जनमानसलाई बाँध्न सक्ने खुबी भएकी गौतमले धेरैजसो आफ्नै शब्द राखेर गीत सार्वजनिक गर्ने गरेकी छिन् । विगतका बर्षभन्दा निकै व्यस्त बनेकी गायिका गंगा गौतम यसपटक युएईमा आयोजना हुन लागेको तीज विशेष शोमा समेत दर्शकमाझ प्रस्तुत हुने भएकी छिन् । यो उनको पहिलो विदेश सांगीतिक कार्यक्रम पनि हुने छ । दिन प्रतिदिन लोकप्रियता बढेसँगै दर्शक-श्रोता माझ नयाँ नयाँ प्रस्तुति दिदै आएकी गंगाले भर्खरै तीज गीत सँगै भीमफेदी गाईज र रक्षा श्रेष्ठलाई राखेर एक गीतको भिडियो पनि सार्वजनिक गरेकी छिन् ।