ईटहरी/ मान्छेका सपना हजारौं हुन्छन् , ती हजारौं सपनाभित्र एउटा त्यस्तो सपना लुकेको हुन्छ, जुन सपना जिन्दगीभर साथैमा होस् अर्थात त्यही सपनाको केन्द्रविन्दुमा पुग्न खोज्दा खोज्दै जिन्दगीको अन्त्य होस् । यस्तै सपना छ सपन श्रेष्ठसँग पनि l तर, पैसा अभाबले गर्दा कला हुँदाहुँदै पनि गला भाँसिए सरह भएका छन् उनी । आफ्नो कलालाई सबैमाझ देखाउन मिडिया खोजिरहेका उनले पहिलोपटक अन्तरवार्ता दिएका छन् । जसमा उनको गाउने कला देखेर श्रोता समेत चकित परेका छन् । यति मात्र हैन अन्तर्वार्ता हेरेकै कारण कतिले गीत रेकर्ड गराईदिनेदेखि म्युजिक भिडियो बनाईदिने सम्मका बाचा गरेका छन् । उनले सबैलाई सहयोग गर्न अनुरोध पनि गरेका छन् ।
सपन सानैदेखि गीत गाउँन रुची राख्थे l उनले गीत गाउँदा साथीभाइहरु वरिपरि बसेर सुनिरहन्थे । आमाको साथ र सहयोग निकै छ उनलाई l कुराकानीमा आफ्नो सपना पूरा गर्ने क्रममा आफ्नी आमाले खसी, कुखुरा समेत बेचेको यथार्थ उनले सुनाए । गायनको भुतसंग भौंतारिंदा भौंतारिदै पढाई पनि छाडेका सपन यही सपनालाई साकार बनाउन दिनरात खटिरहेका छन् । तर स्वर भएर मात्र के गर्नु, गोजीमा टन्न पैसा नभएपछि सपना साथमै छ तर साकार पार्न सकिरहेका छैनन् ।
सङ्गीत यात्राको लागि आर्थिक अभावले पिल्सिएको जिन्दगी बोकेका उनी पेशाले ट्याक्टरको लेबर हुन् । सपनाले अहिलेसम्म सङ्गीतको कुनैपनि औपचारिक ज्ञान समेत लिएका छैनन् तर उनको आवाज र गाउने कला सुन्दा कुनै स्थापित गायक भन्दा अलिकति पनि कम लाग्दैन । आफ्नो गायन कला गाउँघरका धेरैलाई सुनाए उनले, त्यहाँबाट आफ्नो स्वरको वाहवाही त पाए तर गाउँघरमै सीमित रहयो त्यो वाहवाही । अन्तरवार्ता सार्वजनिक भएपछि भने उनलाई सहयोग गर्ने र उनको कलालाई प्रशंसा गर्नेहरु बढिरहेका छन् ।