फिल्मी शैलीको भिडियोमा गायक पोख्रेल

गायक सिताराम पोख्रेल हालै पत्रकारहरुको उपस्थितिमा फिल्मी शैलीको म्युजिक भिडियो सार्वजनिक गरेका छन् l यो उनको १७ औं म्युजिक भिडियो हो l रमेश अधिकारीको शब्द र करणराज कार्कीको सङ्गीतमा पछिल्लो समय रेकर्ड भएको आधुनिक गीत ‘स्वार्थ तिम्रो नभरुन्जेल’ बोल रहेको यस गीतको भिडियो जनकदिप पराजुलीले निर्देशन गरेका हुन् l निर्देशक पराजुलीले गीतलाई कथात्मक ढंगले प्रस्तुत गरेका छन् भने भिडियोमा फिल्मी शैलीका द्वन्द्व दृश्यहरु समेत समावेश भएका छन् l परम्परा भन्दा भिन्न प्रस्तुति शैली लिएर आएको यस भिडियोले दर्शकलाई नौलो पनको अनूभूति त गराउँछ नै यसलाई म्युजिक भिडियोको क्षेत्रमा एउटा आयामिक कामको रुपमा पनि मूल्यांकन गर्न सकिन्छ l

३ दशक भन्दा लामो समयदेखि निरन्तर सङ्गीत यात्रामा रहेका गायक सीताराम पोख्रेलले यसअघि ‘खोजिहेरिनौ, बिना कारण, स्पार्क, अक्टोबर फोर, सम्मान र सम्मान-२’ गरी ६ वटा एल्बम बजारमा ल्याईसकेका छन् l आफ्नो भिडियोमा आफैं अभिनय गर्दै आएका गायक तथा मोडल पोख्रेल मिस नेपाल र चलचित्रका नायिकाहरुलाई मात्र मोडलिंग गराएका कारण समेत समाचारको विषय बन्दै आएका छन् l आयल निगमको निर्देशक पदबाट हालै अवकाश लिएका पोखरेलले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका थुप्रै संघ संस्थाहरुबाट सम्मान एबं पुरस्कारहरु समेत प्राप्त गरेका छन् l