सांगीतिक टुरबाट फर्किए रिजाल

गायक तथा म्युजिक ब्यावसायी पर्शुराम रिजाल १५ दिनको महत्वपूर्ण यात्रा सकाएर हालै युकेबाट फर्किएका छन् l उनी अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज [इनास], युकेको निमन्त्रणामा गत बैशाख ६ गते त्यसतर्फ प्रस्थान गरेका थिए भने इनासले उनलाई ‘यूरोपस्तरीय नृत्य तथा गायन प्रतियोगिता’मा गायनतर्फको निर्णायक बस्नका लागि निम्तो पठाएको थियो l पूर्व निर्धारित तालिका अनुसार स्थानीय एशियन कम्युनिटी सेन्टरको हलमा आयोजित गायन प्रतियोगितामा वरिष्ठ गायक मधु क्षेत्री र लोकप्रिय गायिका शर्मिला बर्देवासँगै उनले निर्णायकको भूमिका निभाएका थिए l समारोहमा रिजालले आफ्ना लोकप्रिय दुईगीत ‘काठै खायो धमिराले र रेखा थापाले’ को लाइभ प्रस्तुति समेत दिएका थिए l यसअघि सांगीतिक प्रस्तुतिका लागि दुबईको यात्रा गरेका रिजालको यो दोस्रो अन्तर्राष्ट्रिय सांगीतिक टुर हो भने युकेको भ्रमण पहिलो हो l भाइब्स क्रिएशन नामक म्युजिक कम्पनीका संचालक समेत रहेका रिजालले एकल स्वरका २ वटा आधुनिक गीति एल्बम समेत प्रकाशन गरेका छन् l