रोमान्ससँगै नाम र दाम

सङ्गीत क्षेत्रमा लगानी अरुकै भएपनि सर्वाधिक नाम र दाम कमाउने गायक-गायिका पछिको अर्को पक्ष हो भिडियो मोडलिंग l एउटा गीत रेकर्डिङ गरी भिडियोमा ल्याउँदासम्म लाखौँ लगानी गर्ने अरु नै हुन्छन् l त्यसको प्रमोशनमा पनि लाखौँ खर्च हुने गरेको छ l तर गीत चल्यो भने गायक-गायिका र भिडियो मोडल ‘हिट’ हुन्छन् l देश-विदेश सर्वत्र उनीहरुकै चर्चा हुन्छ र उनीहरुकै माग बढ्छ l हुन त ‘हिट’ गीतका गीतकार, सङ्गीतकार र एरेन्जरहरु गुमनाम नै हुन्छन् भन्ने चाहिं होइन l तर गायक-गायिका र मोडलहरुको तुलनामा उनीहरुको लोकप्रियता अत्यन्तै न्यून हुन्छ l
नेपाली सङ्गीत क्षेत्रले निकै ठूलो आकार लिईसकेको छ l यस क्षेत्रका विविध विधामा क्रियाशील हजारौं सर्जक-कलाकारहरु आर्थिक रुपमा बाँचेका मात्र छैनन् कि लोभलाग्दो कमाई पनि गरिरहेका छन् l त्यसमध्येको एउटा आकर्षक क्षेत्र हो भिडियो मोडलिंग l नेपालमा धेरैजसो कलाकारहरुले चलचित्र क्षेत्रमा प्रवेशका लागि भिडियो मोडलिंगलाई पहिलो खुड्किलोको रुपमा अपनाउंदै आएका छन् l हालका धेरैजसो ठूलो पर्दाका नायक-नायिका पूर्व समयका भिडियो मोडल नै भएको कुराले पनि यसलाई पुष्टि गर्दछ l हुन त अभिनय क्षेत्रका प्रायजसो कलाकारको लक्ष ठूलो पर्दा नै हुने गर्दछ l तथापि सानो पर्दा अर्थात भिडियो मोडलिंगलाई नाम र दामको लागि ठूलो पर्दा भन्दा छरितो र आकर्षक मान्न सकिन्छ l किनकि भिडियो थोरै दिनमा नै दर्शकहरु माझ पुग्छ र आफूले गरेको कामको नतिजा हेर्न धेरै दिन कुर्नै पर्दैन भने कामको समयको हिसाबले पारिश्रमिक आकर्षक हुन्छ र एकमुष्ठ आउँछ l एउटा चलचित्र खेल्ने समयमा दर्जनौं भिडियो खेल्न सकिन्छ l जसले गर्दा औंलामा गन्न सकिने केही कलाकार बाहेक चलचित्रका भन्दा भिडियोका कलाकारहरुकै कमाई बढी हुने गरेको छ l छोटो समयमा फरक फरक भिडियोमा फरक फरक जोडीसंग रोमान्स गर्न पाईने भएकोले पनि यसमा छुट्टै मजा छ l यसै सन्दर्भमा अहिलेको नेपाली म्युजिक भिडियोको क्षेत्रमा चर्चामा रहेका एक मोडल ओबी रायमाझीको बारेमा यहाँ चर्चा गर्न खोजिएको छ l
वामी-५, गुल्मी स्थाई बसोबास भएका ओबी  पिता लाल बहादुर रायमाझी र माता नीर कुमारी रायमाझीका २ भाइ छोरा पछिका कान्छा सन्तान हुन् l उनले स्थानीय श्री शारदा विद्या मन्दिरबाट एसएलसी र श्री महेन्द्र आदर्श उमाबिबाट ‘प्लस टू’ गरेका थिए l ६-७ कक्षा पढ़दैदेखि स्कूलले आयोजना गर्ने सांस्कृतिक कार्यक्रम लगायत दशैँ-तिहार, तीज जस्ता चाडपर्वमा नाच्ने, अभिनय गर्ने गरेका उनी एसएलसीको रिजल्ट नआउंदै पहिलोपटक ०६३ सालमा काठमाण्डौ आएका थिए l घुमघाम मात्रको योजनामा काठमाण्डौ आएका ओबीले त्योबेला प्रसिद्ध गीतकार/गायक वसन्त थापासँग रेकर्डिङ स्टुडियो लगायत सांगीतिक माहोलमा घुलमिल हुने अवसर पाएका थिए l त्यसपछि भने ०६८ मा उनी सङ्गीत क्षेत्रमा केही गर्ने लक्ष बोकेर राजधानी प्रवेश गरेका हुन् l ‘०६८ मा काठमाण्डौ आएपछि भोटेबहालमा मामासँग बसें l मामाको होटल थियो l मैले रिसेप्शन सम्हालें l गाँसबासको लागि सङ्घर्ष गर्नु परेन l फुर्सद मिलाएर कमलादीको एउटा इन्स्टिच्युटमा अभिनय र नृत्य पनि सिक्न थालें l त्यहाँ ६ महिनाजति सिकें l त्यही समयमा कृष्ण फिम्समा शंकर बिसी र स्मृति तिमिल्सिनासँग पनि नृत्य सिकें l’ उनले आफ्नो सुरुआती दिनहरुको बारेमा बेलिबिस्तार लाए l यस क्षेत्रमा अगाडि बढ्नका लागि जेठो दाजु थम्मन रायमाझी र माइलो दाजु डी. बी. रायमाझी लगायत बुबा-आमा समेतको ठूलो सपोर्ट रहेको बताउदै ओबी भन्छन् -‘म भोटेबहालमा बस्दा मेरो रुचीसँग मामालाई खासै वास्ता थिएन l तर माइजूले धेरै सपोर्ट गर्नुहुन्थ्यो l जुन म कहिल्यै बिर्सन सक्दिन l’ कला क्षेत्रमा लागेर छोराको भविष्य बिग्रेला कि ! भन्ने बुबा आमालाई चिन्ता थियो l ०६९ सालमा नेत्र अर्यालको शब्द, एकनारायण भण्डारीको सङ्गीत, देवी घर्ती र तुलसी म्युजिकको स्वर रहेको लोकदोहोरी ‘मेरै हौ र त अहिलेसम्म बाँचेको छु सानु’ को भिडियोमा मोडलिंग गरेका ओबी ३ वटाजति गीतमा काम गरिसकेपछि परदेशतिर लागेका थिए l उनलाई पहिलोपटक निर्देशक प्रकाश भट्टले मौका दिएका थिए l  ‘२-३ वटा गीतमा काम गरिसकेको थिएँ l त्यति व्यावसायिक पनि भईसकेको थिईन l राजधानीको बसाई, खर्च धान्न गारो पनि भईरहेकोले ०७१ मा कतारतिर लागें’ उनले विगतका यथार्थहरु नलुकाई भने l लगभग डेढवर्ष त्यहाँ बस्दा उनले ईश्वर काफ्ले नामका एकजना समाजसेवी व्यक्तिसंग मिलेर ‘वसन्त फिल्म्स’ नामक संस्था पनि खोलेका रहेछन् l जस मार्फत नेपालबाट कलाकार मगाएर कार्यक्रमको आयोजना र म्युजिक भिडियो निर्माण गर्ने सम्मका कामहरु गरेको उनले जानकारी गराए l कतारमै रहँदा उतैका निर्माताले निर्माण गरेको चलचित्र ‘फर्मुला’ मा समेत नायकको भूमिकामा अभिनय गरेको समेत ओबीले बताएका छन् l ‘त्यो फिल्म हलमा नलागे पनि च्यारिटीहरु भने धेरै ठाउँमा भएको थियो’ उनी भन्छन् l कतारमा रहँदा पनि कलाकारिताबाट टाढा नरहेका ओबीको मन त्यहाँ लामो समयसम्म अडिन सकेन र ०७३ मा उनी पुनः नेपाल फर्किएका थिए l
भिडियो मोडलिंगको क्षेत्रमा स्थापित भएरै छाड्ने सपना बोकेर सङ्घर्ष गरिरहेका ओबी कतारबाट फर्किएपछि पूर्ण रुपमा यसै क्षेत्रमा क्रियाशील छन् र दिनानुदिन व्यस्त बन्दै पनि गएका छन् l लोकदोहोरी, आधुनिक लगायतका विधाका गीतमा भिडियो मोडलिंग गरिसकेका ओबीले सङ्गीत क्षेत्रका स्थापित प्रकाश भट्ट, कपिल लामा, समन अधिकारी, क्रान्ति के. सी., स्मृति तिमिल्सिना, शिव वि. क., विक्रम चौहान लगायतका निर्देशकहरुसँग काम गरिसकेका छन् भने नम्रता सापकोटा, रन्जिता गुरुङ, सारिका के. सी., सोनिया के. सी., संजिता शाही, सगुन शाही लगायतका लोकप्रिय मोडलहरुसँग भिडियोमा उनलाई देख्न सकिन्छ l अन्ततः ठूलो पर्दाकै लक्ष बोकेर हिंडेका ओबीद्वारा अभिनित ‘तिम्लाई खुशी, रुनुपर्यो धेरै, शुभ बिबाह लेखेको मिनीबस, धौलागिरि हिमालको छाया, गयौ मेरो जोबन उजाडी, हाँसीहाँसी यो जिन्दगी, करुवाको जल, लोकल पोथी, सम्झी सम्झी आँशु कति झारें, तिमीबिना फाटेको मन’ का भिडियो निकै लोकप्रिय भएका छन् l भारतलाई कर्मथलो बनाईरहेका संगीतप्रेमी गाउँले दाइ गोपाल सुनारसँग मिलेर हालै ‘ओबीजी इन्टरटेनमेन्ट’ नामक युट्युब च्यानल समेत खोलेका लोकप्रिय मोडल ओबी हाल अमेरिकाबासी गीतकार नवराज पन्त, गायक/सङ्गीतकार वसन्त थापा, गायक/सङ्गीतकार खेम सेन्चुरी र सङ्गीत पारखी राजन क्षेत्रीलाई मार्गदर्शक, सहयोगी एबं शुभचिन्तकको रुपमा संधै सम्झन चाहन्छन् l