सङ्गीतका अनुरागी

विगत २० बर्षदेखि भारतलाई कर्मभूमि बनाईरहेका मुसिकोट नपा-८, गुल्मीका  गोपाल सुनार सङ्गीतका सर्जक/कलाकार नभएपनि सङ्गीतप्रतिको उनको झुकाव, लगाब र प्रेम कुनैपनि सङ्गीतकर्मीहरुको भन्दा कम छैन l १० बर्षको हुँदा बरालिदै भारत पुगेका गोपालले त्यहाँ स्थापित हुन गरेका संघर्षका कथा निक्कै रोचक र प्रेरणादायी छन् l जीवनका अधिकांश समय बिदेशी मुलुकमा बितेपनि उनमा मातृभूमिप्रतिको माया रत्तिभर पनि कमी छैन l उनको लवजमा कताकता भारतीय पन आएपनि उनलाई मनपर्ने गीत नेपाली नै हो l ‘घरमा बस्दा, बाटोमा हिंड्दा, घुम्न जाँदा जहिले नि नेपाली गीत नै सुनिन्छ र नेपाली गीतमै नाचिन्छ l टाढा भएपछि आफ्नो देश, आफ्नो भाषा, आफ्नो भेषभूषा र संस्कृतिको अलि बढी नै माया लाग्दोरहेछ ‘ गोपाल भन्छन् l सङ्गीतप्रतिको झुकावले गर्दा नै भर्खरै लोकप्रिय म्युजिक भिडियो मोडल ओबी रायमाझीसँग मिलेर उनले ‘ओबीजी इन्टरटेनमेन्ट’ नामको युट्युब च्यानल पनि खोलेका छन् l ‘अब केही समयपछि नेपाल फर्कने योजनामा छु l’ उनले म्युजिक डायरीलाई बताए l
गोपाल सुनार हाल भारतको दिल्लीमा सपरिवार बसोबास गरिरहेका छन् l नेपाली चाडपर्व, नेपाली नयाँबर्ष लगायत अन्य भारतीय पर्व तथा विशेष दिनहरुमा दिल्लीमा नेपाली सांस्कृतिक कार्यक्रमहरुको आयोजना हुने गरेको जानकारी गराउंदै गोपाल भन्छन् -‘म आफूले गीत नगाए पनि यहाँ आयोजना हुने कार्यक्रमहरुमा पूर्ण रुपमा साथ सहयोग दिने गरेको छु l यहाँ पनि धेरै नेपाली कलाकारहरु छन् l कहिले यतैका कलाकारहरूबाट कार्यक्रम हुने गरेको छ भने कहिले नेपालबाट पनि  बोलाउने गरिएको छ l’ दिल्लीमा रहेको ‘नेपाली प्रवाशी संघ भारत’ ले पनि बेला बेलामा यस्ता कार्यक्रमहरुको आयोजना गर्ने गरेको उनले जानकारी गराए l यस संघले त्यहाँ रहेका नेपालीहरुलाई सारोगारो पर्दा सहयोग गर्ने र समन्वयकारी भूमिका निभाउने गरेको समेत उनले बताएका छन् l मोडल ओबी रायमाझीकै सल्लाह बमोजिम संयुक्त स्वामित्व रहनेगरी युट्युब च्यानलको स्थापना गरेको र केहीदिन अगाडि मात्र एउटा म्युजिक भिडियोमा पनि आंशिक लगानी गरेको बताउने गोपाल सुनार अगाडि भन्छन् – ‘मलाई गीत लेख्न, सङ्गीत गर्न र गाउन नआए पनि यो क्षेत्रमा केही गर्ने मेरो सोख हो l’