छैटौं राष्ट्रिय स्रष्टा सम्मान सम्पन्न

गीतकारहरुको एकमात्र छाता संस्था ‘गीतकार सङ्घ नेपाल’ ले गत जेठ २६ गते छैटौं ‘राष्ट्रिय स्रष्टा सम्मान, वर्ष गीत पुरस्कार, वर्ष गीत पुस्तक पुरस्कार तथा सायस्पोरा गीतकार सम्मान’ कार्यक्रम सम्पन्न गरेको छ l कार्यक्रम पूर्व राष्ट्रपति रामवरण यादवको प्रमुख आतिथ्यमा कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको सभा हलमा सम्पन्न भएको थियो l
समारोहमा संघले वरिष्ठ गीतकार कालीप्रसाद रिजाललाई ताम्रपत्र र नगद रु. १ लाख १ सहित पूर्व राष्ट्रपति रामवरण यादवको हातबाट ‘राष्ट्रिय स्रष्टा सम्मान २०७४’ द्वारा सम्मान गरेको छ l सम्मान अर्पण गर्नु अघि समारोहमा गीतकार रिजालको समग्र व्यक्तित्व झल्कने केही मिनेटको वृत्तचित्र समेत प्रदर्शन गरिएको थियो l यसैगरी गीतकार सुमन वैरागीले ‘प्रवाशको पीडा’ गीतबाट र गीतकार पवित्रा राईले ‘अभिनय गर्दै’ बोलको गीतबाट संयुक्त रुपमा ‘वर्षगीत पुरस्कार’ प्राप्त गरेका छन् l रु. ५१ हजार नगद र ताम्रपत्र सहितको यो पुरस्कारको राशी विजेता दुबै गीतकारहरूलाई दामासाही गरिएको छ l समारोहमा रु. ५१ हजार र ताम्रपत्र सहितको ‘वर्ष गीत पुस्तक पुरस्कार’ बाट पनि गीतकार सुमन श्रापित र गीतकार जानुका राई संयुक्त रुपमा पुरस्कृत भएका छन् l यो पुरस्कारको राशी पनि दुबैजना गीतकारमा दामासाही भएको छ l

पूर्व घोषित कार्यक्रम अनुसार यस बर्षको ‘डायस्पोरा गीतकार सम्मान-२०७४’ भने अमेरिकामा बसेर नेपाली गीत-संगीतको श्रीवृद्धिमा उल्लेख्य योगदान पुर्याउने गीतकार राखी गौचनलाई प्रदान गरिएको छ l कार्यक्रम संघका अध्यक्ष चूडामणि देवकोटाको अध्यक्षतामा सम्पन्न भएको थियो भने समारोहमा वरिष्ठ गीतकारहरु यादव खरेल, किरण खरेल, एस्पी कोईराला, राजेन्द्र थापा, वरिष्ठ सङ्गीतकार शम्भुजीत बासकोटा, गीतकार अमर बान्तु लगायतको उपस्थिति रहेको थियो l समारोहमा यसवर्ष आजीवन सदस्यता लिएका ३३ जना गीतकारहरुलाई पनि सदस्यताको प्रमाणपत्र वितरण गरिएको थियो l