गायनमा पहिचान स्थापित गर्दै चन्द्र

गला र शास्त्रीय सङ्गीतमा राम्रो ज्ञान भएर पनि लामो समयदेखि ओझेलमै रहेका गायक चन्द्र बहादुर तामांग सङ्गीतमा आफ्नो पहिचान स्थापित गर्ने अठोटकासाथ यतिबेला गीत रेकर्डमा व्यस्त रहेका छन् l ०५१ सालबाट नै सङ्गीतको प्रशिक्षण लिएका क्लासिकल सङ्गीतमा दक्ष चन्द्र बहादुरले लगभग १ बर्ष अघि पहिलोपटक सपना पुनको शब्दरचना र देव कुमार चौधरीको सङ्गीतमा ‘उजाड भयो सबैतिर’ बोलको गीत गुन्जन स्टुडियोमा रेकर्ड गरेका थिए l जुन गीतको भिडियो पाथीभरा च्यानलबाट सार्वजनिक समेत भईसकेको छ l त्यसपछि पनि देव कुमारकै सङ्गीत र सपना पुनकै शब्दमा ‘सुख र दु:खको माला भन्थें जीवन’ दोस्रो गीतको रुपमा रेकर्ड भएको थियो l जसको भिडियो बन्न भने बाँकी नै छ l आफ्नै सङ्गीत गुरु रत्न बेहोशी बज्राचार्यको सङ्गीतमा ३ वटा आधुनिक, गुरु समेतको सामूहिक स्वरमा दुईवटा भजन, कमला राईसँगको युगल स्वरमा एउटा नेवारी गीत र अमृत लामाको सङ्गीतमा तामांग सेलो एउटा गरी अन्य सातवटा गीत रेकर्ड गरेका गायक चन्द्र बहादुर लोकप्रिय सङ्गीतकार देव कुमार चौधरीसँगको चिनजानपछि भने नयाँ उत्साह र उर्जाका साथ गायनमा सक्रिय देखिँदै आएका हुन् l उनी भन्छन् -‘सङ्गीतकार देव कुमार चौधरीसँगको भेटपछि उहाँकै हौसला र प्रेरणाले गर्दा नयाँ उत्साह र आत्मविश्वासका साथ अगाडि बढिरहेको छु l’
बुबा सोवितमान तामांग र आमा कान्छीमाया तामांगको परिवारमा ललितपुर, महालक्ष्मी नगरपालिकाको मानेदोभानमा जन्मिएका गायक चन्द्र पेशाले व्यवसायी हुन् l आफैं हार्मोनियम र गितार बजाएर गीत गाउँन सक्ने राम्रो क्षमता भैकन पनि कार्य व्यस्तताको कारण लामो समयदेखि सङ्गीतबाट टाढा रहेका उनी अबका दिनमा भने गायनलाई निरन्तरता दिने बताउँछन् l सङ्गीत उनको फगत रहर मात्र हैन, उनी एउटा राम्रो सम्भावना भएका कलाकार समेत हुन् l सानै उमेरदेखि गायनमा अब्बल क्षमता भएका उनी स्कूले उमेरदेखि नै गाउँ-घरमा आयोजना हुने कार्यक्रमहरुमा गीत गाउँने मात्र गर्दैनथे पुरस्कृत समेत हुन्थे l स्कूलका पनि धेरै गायन प्रतियोगिताहरुमा उनले पुरस्कारहरु जितेका थिए l उदियमान गायक चन्द्र बहादुर तामांगको गायन क्षमता र सम्भावनाको बारेमा सङ्गीतकार देव कुमार चौधरी भन्छन् – ‘चन्द्र बहादुरको स्वर माझिएको छ l शास्त्रीय गला भएका उनमा छिट्टो सिक्न सक्ने क्षमता पनि छ l जुन हामी सङ्गीतकारहरुको लागि एउटा सुखद पक्ष हो l मैले उनलाई गीतलाई न्याय दिन सक्ने र राम्रो सम्भावना भएका गायकको रुपमा मूल्यांकन गरेको छु l मलाई लाग्छ उनले नेपाली सङ्गीत क्षेत्रमा छिट्टै कुशल गायकको रुपमा आफ्नो पहिचान स्थापित गर्ने छन् l’