पर्यटन प्रवर्धनका लागि नयाँ शैलीमा बोर्ड

नेपाल पर्यटन बोर्डले आन्तरिक र वाह्य पर्यटन प्रवर्धनका लागि डिजिटल प्रविधिबाट पनि प्रचार-प्रसार अभियानलाई अगाडि बढाउनेभएको छ l हालै बोर्डको भृकुटीमण्डपस्थित सभा हलमा पत्रकार सम्मेलनको आयोजना गरी बोर्डले सो कुरा सार्वजनिक गरेको हो l विश्व बजार डिजिटलमय बन्दै गईरहेको परिप्रेक्ष्यमा परम्परात्मक शैलीबाट भन्दा डिजिटल माध्यमबाट प्रचार-प्रसार गर्दा कम खर्चमा कैयौंगुणा बढी प्रभावकारी हुने देखिएकोले बोर्डले आफ्नै यु-ट्युब च्यानल संचालनमा ल्याएर युग सुहाउँदो प्रचार शैली अख्तियार गरेको कुरा पत्रकार सम्मेलनमा जानकारी गराइएको छ l सो अवसरमा बोर्डद्वारा निर्मित कीर्तिपुरको पर्यटकीय महत्व दर्शाउने ‘गन्तव्य भिडियो’ र मुस्तांगलाई चिनाउने म्युजिक भिडियो प्रदर्शन गरिएको थियो l मन्दिप गौतमको लेखन तथा निर्देशनमा तयार भएको कीर्तिपुर सम्बन्धी भिडियोमा एक बिदेशी सहित नेपाली कलाकारहरु सविन बास्तोला र रजनी खत्रीले अभिनय गरेका छन् भने ‘हाम्रो मुस्तांग’ शीर्षकको गीतको भिडियोमा मुस्तांगका रमणीय एवं पर्यटकीय महत्वका अधिकांश स्थानहरु समेटिएका छन् l बिपिन किरणको शब्दरचना, मिलन मोक्तानको सङ्गीत त टिका प्रसाईंको स्वर रहेको सो गीतको भिडियो बादल थकालीको परिकल्पना एवं निरज थकाली र असिम शेर्पाको निर्माणमा तयार भएको हो l भिडियोमा पोखरादेखि मुस्तांगसम्मका पर्यटकीय क्षेत्रलाई सुन्दर ढङ्गले देखाईएको छ l कार्यक्रममा बोर्डले चाँदै सातै प्रदेशको मौलिकता झल्कने र पर्यटकीय गन्तब्यको महत्व बोकेका छुट्टाछुट्टै भिडियो तयार पारी यु-ट्युब र फेसबुक जस्ता लोकप्रिय सामाजिक सञ्जाल मार्फत सार्वजनिक गर्ने तयारी भईरहेको कुरा पनि बोर्डका निमित्त कार्यकारी निर्देशक हिक्मत सिंह ऐरले पत्रकारहरुलाई जानकारी गराएका थिए l