क्रिष्टिनाको सहयोगार्थ साँगीतिक कार्यक्रम

क्रिष्टिना सुनुवार स्मृतिकोष स्थापनाका लागि सन्ध्या फाउन्डेशन नेपालद्वारा आयोजित म्युजिकल लाइभ शो कार्यक्रम सम्पन्न भएको छ l सङ्गीतकार सङ्घ नेपालका अध्यक्ष लक्ष्मण शेषको प्रमुख आतिथ्य तथा सन्ध्या फाउन्डेशनका अध्यक्ष पुष्कर सुनुवारको सभापतित्वमा ललितपुरको जावलाखेलस्थित फुटबल ग्राउण्डमा सम्पन्न सो कार्यक्रममा पुष्कर सुनुवार, चिरन्जीवी भण्डारी, नवीन सुनुवार, प्रदिप लामा, कृष्ण कट्टेल, गगन प्रकाश लिम्बू, भोजराज प्रसाईं, पूजा सुनुवार, मेनुका पौडेल, बबिता राई आदि गायक-गायिकाले गीत गाएका थिए भने मनिष श्रेष्ठ, अल इन वन ग्रुप, धिरज खत्री र कविता सुनुवारले आकर्षक नृत्य प्रस्तुति दिएका थिए l यसैगरी कार्यक्रममा यादव देवकोटा ‘सरापे’को हास्य प्रस्तुतिलाई पनि दर्शक-श्रोताले निकै मन पराएका थिए l
समारोहमा सन्ध्या फाउन्डेशनका अध्यक्ष पुष्कर सुनुवारले आर्थिक अभावकै कारण उपचार नपाएर कसैले पनि मृत्युवरण गर्नु नपरोस भन्ने कामना गर्दै त्यस्ता बिरामीहरुलाई आर्थिक सहयोग गर्ने मूल उद्देश्यकासाथ फाउन्डेशनको स्थापना गरिएको कुरा जानकारी गराएका थिए l साँगीतिक प्रस्तुति पश्चात सो कार्यक्रमबाट उठेको सम्पूर्ण रकम क्रिष्टिना सुनुवार फाउन्डेशनका अध्यक्ष क्रिष्टिनाका बाबु नीर कुमार रुपाचालाई हस्तान्तरण गरिएको थियो l