परोपकारी गीतकार दिलिप

गीतकार दिलिप योन्जन तामांगको एकल शब्दरचना र राजेश थापाको एकल सङ्गीतको आधुनिक गीति एल्बम ‘आफ्नै छायाले’ भर्खरै बजारमा आएको छ l यसअघि पनि ‘अ’ अक्षरबाटै अनुपम [सन् १९९८], अमूल्य [२००१] र अजम्बरी [२०१६] शीर्षकका एल्बम प्रकाशन गरिसकेका गीतकार दिलिपको यो चौथो एल्बम हो l गीतका अतिरिक्त साहित्यका अन्य विधामा समेत कलम चलाउँदै आएका दिलिपका लेख-रचनाहरु पत्रपत्रिकामा समेत छापिंदै आएका छन् l उनका रचनामा मान्छेको भीडमा [कवितासङ्ग्रह-बि.स. २०५०], आस्था खोजिरहेछु [कवितासङ्ग्रह-२०५८] र गाउँ बेंसीमा फूलै…[गीतसङ्ग्रह-२०७२] समेत प्रकाशित छन् l
गीति एल्बम ‘आफ्नै छायाले’ मा ‘मनमा बसी मनै त खायौ नि, हावा बनी छोऊँ तिमीलाई, तिमीबिना उराठ उराठ भो जिन्दगी र मुहारै राम्रो गुलावी ओठ’ बोलका ४ वटा गीत रहेका छन् l जसमध्ये २ वटा गीत प्रेमवियोगका छन् भने २ वटा प्रेम-आकर्षण भावमा रचिएका छन् l गीतमा रामकृष्ण ढकाल, प्रमोद खरेल, युवराज चौंलागाई, अजर जंगम, मिलन अमात्य र मेलिना राईका स्वर सुन्न सकिन्छ l कूल ४ गीतमध्ये २ वटा गीत नारी-पुरुष अलग अलग स्वरमा रेकर्ड गरिएकोले एल्बममा गीत प्रस्तुति संख्या ६ रहेको छ l सरल शब्दरचना र हृदयस्पर्शी भाव बोकेका सबै गीत उत्तिकै सशक्त लाग्दछन् l सङ्गीत र स्वरको न्यायपरक सम्मिलनले समग्रमा एल्बमलाई सङ्ग्रहणीय बनाएका छन् l पछिल्लो समय नेपाली आधुनिक सङ्गीतको बजारमा सबैको रोजाईका सङ्गीतकार बन्दै गएका राजेश थापाले यस एल्बममा पनि अपेक्षाकृत काम गरेका छन् भन्दा न्यायसंगत नै हुन्छ l
गीतकार दिलिपको जन्म सन् १९६७, फेब्रुअरी १९ का दिन भोजपुरको देउराली-१ मा भएको हो l बि.ई. र बि. कम. सम्मको अध्ययन पूरा गरेका उनी हाल अमेरिकाको टेक्सासमा बस्दै आएका छन् l सौभाग्यबस ईश्वरबाट धन र मन दुबै पाएका दिलिप अरुको दु:खमा पीडा महसुस गर्छन् र दु:खीलाई सहयोग गर्न पाउँदाको क्षण आनन्दको असिम अनूभूतिमा डुब्छन् l २ रुपैयाको सहयोग गरेर ४ रुपैयाको प्रचारमा लाग्नेहरुको भीडमा उनी भिन्न छन् l एकपटक हैन दुईपटक हैन उनले विभिन्न प्रकारका समस्यामा परेका मान्छेहरुलाई पटक पटक आर्थिक सहयोग गरेका छन् l ०७२ सालको भूकम्पका बेला उनले ७ लाख ६७ हजारका राहत सामग्री सहयोग गरेका थिए भने जेहेन्दार नेत्र मोक्तानलाई सीएमए पढ्न रु. २ लाख सहयोग गरेका थिए l पढ्नकै लागि निश्चिता स्यांगतानलाई रु. ७० हजार [पूर्ण छात्रवृत्तिको पहिलो बर्ष], अजय तामांगलाई रु. ३८ हजार ५ सय, कक्षा १ देखि ५ सम्म पढ्ने २० जना विद्यार्थीका लागि रु. १ लाख, सिन्धुपाल्चोकका पहिरो पीडितलाई रु. १५ हजार ५ सय, काभ्रेका ३० घरधुरीलाई खानेपानी पाइप किन्नका लागि रु. २५ हजार, काठमाण्डौकी नीरमाया तामांगलाई घर मर्मतका लागि ९५ हजार आदि उनले गरेका सहयोगहरु हुन् l त्यसैले त गीतकार दिलिप दिमागबाट हैन मनबाट रचना गर्छन् l जुनकुरा उनका रचनामा सहजै अनुभव गर्न सकिन्छ l विषयबस्तुका छनोटमा समेत विविधता पस्कँदै गीत रचनालाई निरन्तरता दिँदै गएमा उनीबाट अझ धेरै अपेक्षा गर्न सकिन्छ l