मित्रता र सहकार्यको रजत बर्ष

गीतकार वसन्त वित्याशी थापा र सङ्गीतकार राजु सिंहले मित्रता र सहकार्यको २५ बर्ष पुगेको खुशियालीमा एक कार्यक्रमको आयोजना गरी रजत वर्ष मनाएका छन् l मिलाप मासिकको आयोजनामा सम्पन्न सो कार्यक्रममा पत्रकार र केही शुभचिन्तकहरुको उपस्थिति रहेको थियो l कार्यक्रममा ०४९ सालमा ‘रित्तो सडक’ बोलको गीतबाट सङ्गीतकार सिंहसँग सहकार्य सुरु भएको र अहिलेसम्म ७ वटा एल्बम प्रकाशन भईसकेको जानकारी गराउंदै गीतकार थापाले यो सहकार्य निरन्तर रहने कुरा बताएका छन् l यसैगरी सङ्गीतकार राजु सिंहले पनि सहयात्राका संस्मरणहरुबारे सुनाएका थिए l गीतकार वित्याशी वेष्ट टोन म्युजिक र भकारी डेभलपमेन्ट कम्पनीका सञ्चालक हुन् भने सङ्गीतकार सिंह पूर्वीय र पाश्चात्य सङ्गीतका ज्ञाता एवं व्यावसायिक सङ्गीतकार हुन् l समारोहमा सहकार्यको सातौँ एल्बम ‘तिमी मेरो साथी’ मा समाविष्ट गीत ‘फूल भन्दा कमी छैन’ को भिडियो समेत सार्वजनिक गरिएको थियो l सन्जय पाण्डेको निर्देशनमा तयार भएको सो भिडियोमा गणेश अग्रवाल र साधना शर्माको अभिनय रहेको छ बहने गीतमा राजेशपायल राईले स्वर दिएका छन् l