युवा लक्षित धारावाहिक 21st LOVE

एशियन म्युजिकको निर्माण र मिडिया स्केपको प्रस्तुतिमा कान्तिपुर टेलिभिजनबाट युवा लक्षित धारावाहिक चलचित्र 21st LOVE आउने भएको छ l गत फागुन २ गते ‘भ्यालेनटाईन डे’ का अवसरमा पुरानो बानेश्वरस्थित अर्ग्यानिक चुलो नामक रेष्टुरेन्टमा पत्रकार सम्मेलनको आयोजना गरी सो कुरा जानकारी गराईएको थियो l धारावाहिकको घोषणा पश्चात केही मिनेटको ‘ट्रेलर’ समेत प्रदर्शन गरिएको थियो l कार्यक्रममा एशियन म्युजिकका निर्देशक तथा धारावाहिकका निर्माता ईश्वर गुरुङले आफ्ना कुरा राख्दै भने-’21st LOVE नेपाली टेलिभिजनको इतिहासमै फरक र समय सापेक्ष सिरियल हो l चलिरहेका ट्रेन्ड भन्दा फरक धार र कथावस्तुको यो सिरियल टेलिभिजन र यु-ट्युबका योंग जेनेरेशन दर्शकको चाहना अनुकुल निर्माण गरिएको छ l जसमा अभिनय गर्ने कलाकार पनि योंग जेनेरेशनकै छन् l’ विगतमा विभिन्न टेलिभिजनहरुमा साङ्गीतिक कार्यक्रम समेत संचालन गर्दै आएका गुरुङले आफू गीत गाउन रुची राख्ने मान्छे भएको जानकारी गराउदै अगाडि भने-‘सुरुमा म गायक बन्ने सपना बोकेर यस क्षेत्रमा आएको थिएँ l गीत बोकेर धेरै कम्पनी धाएँ तर काम पनि नगर्ने हुन्न पनि नभन्ने प्रवृत्तिबाट हैरान भएर ०६१ सालमा आफैंले कम्पनी खोलेको हुँ l’ विगत १३ वर्षदेखि सक्रिय रुपमा गीत-सङ्गीतको बजार व्यवस्थापन र प्रवर्धनमा लागिरहेको एशियन म्युजिकको इतिहासलाई हेर्ने हो भने कम्पनीले धेरैजसो नयाँ प्रतिभाहरुको गीत तथा एल्बमको बजार व्यवस्थापन गरेको देखिन्छ l  विभिन्न अवार्ड समारोहहरुमा पटकपटक ‘सर्वोत्कृष्ट म्युजिक कम्पनी’ को अवार्ड समेत पाप्त गरिसकेको यस कम्पनीको म्युजिक क्षेत्रमा अलग्गै प्रकारको प्रतिष्ठा रहेको छ l
प्राप्त जानकारी अनुसार 21st LOVE को लेखन तथा निर्देशन सरिन पोखरेलले गरेका हुन् भने राजेशराज गिरी सहायक निर्देशकको रुपमा रहेका छन् l सिरियलका तीन अलग अलग जोडीका प्रेम, रोमान्स, खुशी र पीडालाई मूल कथाले एक सूत्रमा बाँधेको छ l धारावाहिकले शहरिया परिवार र ‘जेनेरेशन ग्याप’का कारण अभिभावक र छोराछोरीबीचमा उत्पन्न वैचारिक द्वन्द्वलाई यथार्थप्रक ढंगबाट प्रस्तुत गर्ने प्रयास गरेको छ l अभिभावकहरुको पुरातन र परम्परावादी सोच एवं २१ औं शताब्दीका युवाको स्वतन्त्र जीवनशैलीले निम्त्याएको पारिवारिक दूरी र समस्यालाई यस धारावाहिकले समेट्ने थाहा भएको छ l धारावाहिकमा अभिभावकको भूमिकामा लक्ष्मी गिरी, पवन धनकुटे, खगेन्द्र श्रेष्ठ, रश्मी भट्ट, राधा श्रेष्ठ, अन्जन शर्मा आदिको भूमिका रहेको छ भने सरोज अधिकारी, आश्मा विश्वकर्मा, अनुष्का अधिकारी, निशान्त सुवेदी, संयोग गुरागाईं, रोशनी कार्की आदि कथाको मूल पात्रको रुपमा देखिने छन् l छायांकन सुरु गर्नु अघि १ महिनासम्म ‘वर्कशप’ गरिएको यो धारावाहिक प्राविधिक रुपमा समेत स्तरीय हुने कुरा लेखक/निर्देशक सरिन पोखरेलले जानकारी गराएका छन् l मार्च महिनाबाट हरेक विहीबार कान्तिपुर टेलिभिजनको प्राईम टाइम बेलुकी ७:३०-८ मा प्रसारण भए पश्चात यो धारावाहिक एशियन म्युजिकको यु-ट्युब च्यानलबाट समेत हेर्न सकिने छ l
धारावाहिकमा २ वटा गीत समेत रहेका छन् l जसमा अल्मोडा राना उप्रेती र शुभ तामांगको शब्द तथा अल्मोडा राना उप्रेती, शुभ तामांग र मेलिना राईको स्वर रहेको छ l गीतमा अल्मोडा र शैलेन्द्र प्रधान ‘बाबु’ले सङ्गीत संयोजन गरेका हुन् l यसैगरी धारावाहिकमा क्यामेरा पर्सन ज्ञानेन्द्र शर्मा र मिलन शंकर, सम्पादन अशोक मल्ल र टेकेन्द्र शाह, शृंगार अनिता गोश्वा र पार्श्व सङ्गीत आदेश गुर्मछानको रहेको छ l गत पुष १ बाट छायांकन सुरु गरिएको यस धारावाहिकलाई काठमाण्डौ उपत्यकाका एयरपोर्ट, सिटि सेन्टर, सिटिसी मल, बानेश्वर र कपनका विभिन्न स्थानमा छायांकन गरिएको थियो l