उदियमान गायक केहर

गायक केहर सिंह प्यासीले भर्खरै विन्ध्यवासिनी म्युजिकबाट आफ्नो पछिल्लो गीत ‘कालीपारे ठिटो’ {सालैजो} यु-ट्युब मार्फत सार्वजनिक गरेका छन् l केहर स्वयंको शब्द/लय रहेको यस गीतमा उनलाई गायिका जुना श्रीषले स्वरमा साथ दिएकी छिन् l एकिन्द्र सारा शंकरको निर्देशनमा तयार भएको यस गीतको भिडियोमा सुमन राना, रेनु पुन मगर, सविन गुरुङ, योजना जोशी लगायतका कलाकारको अभिनय रहेको छ l
मदाने गाउँपालिका, अग्लुंग-१ निवासी पिता लंक बहादुर सिंह र माता रेवती सिंहको परिवारमा पहिलो सन्तानका रुपमा जन्मिएका केहरले एस.एल.सी. सम्मको पढाई स्थानीय अग्लुंग मा.बि. बाट पूरा गरेका थिए l हरेक शुक्रबार स्कुलमा आयोजना हुने अतिरिक्त क्रियाकलापको कार्यक्रममा गायनमा भाग लिईरहने उनी सानैदेखि गीत-सङ्गीतप्रति गहिरो झुकाव राख्थे l स्थानीय मेला र चाडपर्वहरुमा समेत गीत गाउने गरेका केहर गाउँमा छँदा ‘हरियाली रक्त चन्दन युवा क्लव’ मार्फत समेत गायन तथा अन्य सामाजिक गतिविधिमा सक्रिय थिए l उनले स्कुलका गायन कार्यक्रमहरुमा मात्र नभई खुला दोहोरी प्रतियोगिताहरुमा समेत पुरस्कार पाएका छन् l उनी स्थानीय क्लवद्वारा ०५९ सालमा आयोजित एकल गायन प्रतियोगितामा प्रथम भएका थिए भने ०५८ सालमा आयोजित खुला दोहोरी प्रतियोगितामा उनको समूह प्रथम भएको थियो l
एस. एल. सी. पछि कलेज पढ्न बुटवल झरेका केहरले त्यहाँ बस्दा ‘बागेश्वरी सङ्गीतालय’ मा करिव ४ महिना शास्त्रीय सङ्गीतको सैद्धान्तिक र व्यवहारिक शिक्षा समेत लिएका थिए l बुटवलको पढाई पश्चात केही समयको भारत बसाईपछि घर फर्किएका केहर ०७१ सालको उत्तरार्धमा ४० हजार रुपैया बोकेर राजधानी प्रवेश गरेका थिए l समयले साथ दिएमा राजधानीमै बसेर सङ्गीतकर्म गर्ने नत्र यूरोपतिर जाने उनले मनमनै योजना बनाएका थिए l ‘काठमाडौँ आएपछि कलाकार साथीभाइहरुसंग भेटघाट भयो l चिनजान पनि बढ्दै गयो l बुबाले दिनुभएको त्यही ४० हजारले आफ्नै शब्द र महेन्द्र भण्डारीको सङ्गीतमा ०७२ सालमा पहिलो गीत रेकर्ड गरें -रुँदै रुन्न भने नि झर्छन् आँशु अत्ति l’ केहरले आफ्नो सङ्गीत यात्राको विगत यसरी सुनाए l त्यो गीतमा उनलाई देवी धर्तीले स्वरमा साथ दिएकी थिईन् l गीतको भिडियो बन्यो र हिम सम्झौता डिजिटलबाट बजारमा पनि आयो l त्यो गीत बम्पर हिट नभएपनि उनलाई यस क्षेत्रमा गायकको पहिचान भने अवश्य दिलाएको थियो l त्यसपछि उनको मन पनि बदलियो l सङ्गीतमै केही गर्ने अठोट लिएका केहरले यूरोपको योजनालाई थाँती राखे र अहिलेसम्म सङ्गीतमै सङ्घर्ष गरिरहेका छन् l ‘रुँदै रुन्न भने नि’ पछि उनका  ‘हंगकंग लण्डन, देश टुक्क्र्याउन पाईदैन {राष्ट्रिय गीत}, रातो गुन्यु चोली, नाच माया धोको फेरेर {तीज गीत}, शिरमा रिवन, कालीपारे ठिटो’ [सालैजो} लगायत लगभग १ दर्जन गीत बजारमा आइसकेका छन् भने जुनु रिजालसंग गाएको ‘पूर्व पश्चिम’ र ‘पन्चे बाजा’ शीर्षकमा २ गीत रिलिजको तयारीमा छन् l आफ्ना प्रायजसो गीतका शब्द आफैं लेख्ने गरेका केहर यदाकदा लय सिर्जना समेत गर्ने गर्दछन् l तथापि उनको प्रमुख विधा भने गायन नै हो l हाल पूर्ण समय म्युजिकलाई नै दिएर अगाडि बढिरहेका केहरलाई मेलिना राईसंग उनले गाएको ‘हंगकंग लण्डन’ र ‘सालैजो’ ले गायकको रुपमा पृथक पहिचान दिएका छन् l हालसम्म गायनका लागि विदेश यात्रा नगरेका केहर नेपालका मध्य तथा मध्यपश्चिम क्षेत्रका विभिन्न जिल्लामा आयोजित मेला-महोत्सवहरुमा भने दर्शक-स्रोतासंग साक्षात्कार गरिसकेका छन् l घर-परिवारबाट समेत राम्रो सपोर्ट पाएका केहरको परिवारमा गायनप्रति अरु कसैको अभिरुची नभएपनि हाल ९ कक्षामा पढ्दैगरेका आफ्नो  भाइ दिलिपको भने गला राम्रो भएको उनी बताउँछन् l सङ्गीतलाई नै जीवनको एक मात्र लक्ष बनाएर सङ्घर्ष गरिरहेका स्रष्टा-कलाकार केहरले धेरै साङ्गीतिक जंघार तरिसकेका छन् भने एकदिन यो यात्रा अवश्य गन्तव्यमा पुग्ने छ भन्ने विश्वास गर्न सकिन्छ l