असल मान्छेको कुशल सिर्जना उकाली ओराली

सङ्गीत क्षेत्रमा नयाँ नयाँ स्रष्टा-कलाकार उदाउने क्रम निरन्तर चलिरहेको छ l यसै परिप्रेक्ष्यमा भर्खरै अर्का एक कुशल गीतकार ईश्वर श्रेष्ठको उदय भएको छ l सानै उमेरदेखि कला, सङ्गीत र साहित्यमा रुची भएपनि उनी गीतकारको रुपमा औपचारिक ढङ्गले भर्खरै मात्र देखिएका हुन् l दीपक शर्माको एकल सङ्गीत र ईश्वर श्रेष्ठको एकल शब्दरचनाको आधुनिक गीति एल्बम ‘उकाली ओराली’ उत्कृष्ट म्युजिकबाट केहीदिन अघिमात्र बजारमा आएको छ l एल्बम अनामनगरस्थित युनियन हाउसमा एक औपचारिक समारोहको आयोजना गरी सार्वजनिक गरिएको थियो l
‘उकाली ओराली’ मा रहेका ७ गीत मध्ये गएको तीजमा रिलिज भएको एउटा तीजगीत बोनस ट्रयाकको रुपमा समावेश गरिएको छ l एल्बमको शीर्ष नम्बरमा रहेको गीत ‘ओराली झरे जस्तो सजिलो हैन रैछ माया’ मा मायालाई जीवनजगतसंग जोड्दै भिन्न भिन्न दृष्टिकोणबाट परिभाषा गरिएको छ l मायाका सन्दर्भमा आफ्नै प्रकारका बुझाई, भोगाई र हेराईका तरेलीहरु गीतमा अनुभव गर्न सकिन्छ l एल्बमको दोस्रोर तेस्रो  लहरमा रहेका गीत ‘नदेखेको धेरै भयो नबोलेको कति भयो’ र ‘अत्तालिन्छ किन यो मन तिमीलाई एकैछिन नदेख्दा’ दुबैमा वियोगान्त भावहरु छन् l माया गर्नेहरुको बीचमा दूरी बढ्दा मनमा चल्ने वेदनाका आँधीहुरीलाई गीतले व्यक्त गरेको छ l कसैको यादमा मनको वेचैनी बढेको छ l मन चिरिएको छ, झस्किएको छ अनि आत्तिएको छ l दुबै गीतले आफ्नो प्रिय मान्छेको साथको न्यानोपन र दूरी बढ्दाको पीडालाई उजागर पारेका छन् l यसैगरी चौथो नम्बरमा रहेको गीत ‘एकै नजरमा दिल बस्यो उनीसंग’ प्रेम आकर्षण भावमा छ l डान्सिंग बिटको यो गीतले एकै भेटमा, एकै हेराइमा एकतर्फी आकर्षण-प्रेमले ब्याकुल बनाएको स्थितिलाई चित्रण गरेको छ l एल्बमको पाँचौ लहरमा रहेको प्रेमगीत ‘म संग माया लाउनेलाई, कसरी बिर्सु उनीलाई’ आम प्रेमगीत भन्दा भिन्न प्रकृतिको छ l कवि-गीतकारहरु प्रायः प्रेमी-प्रेमिकाको गुण र सौन्दर्यको या ऊ प्रतिको प्रेमभावको वयान गर्दछन् l तर आफ्नी जीवन संगिनी जो दुखःसुखको साथी हुन्छिन् उसको बारेमा लेख्न आवश्यक ठान्दैनन् l त्यस्ता गीत विरलै रचिएका होलान् जहाँ आफ्नी पत्नीमा पनि सुन्दरता होस् , उनी घरमा छैनन् भनि वियोगले सताओस अनि उनको निस्वार्थ साथ, जीवनमा उनको महत्व र आफ्ना सानासाना आवश्यकतालाई उनले ख्याल गरेका कुराहरु हुन् l गीतकार ईश्वरले यहाँ आफ्नी पत्नीका बारेमा गीत लेखेका छन् l जीवनमा उनको महिमा र महत्वको बारेमा वयान गरेका छन् l एल्बमको सातौँ तथा अन्तिम गीत ‘मेरो देश मेरो देश ‘ राष्ट्र प्रेममा आधारित छ l गीतमा जन्मभूमिको प्राकृतिक विविधता र सुन्दरता, धार्मिक स्थलहरु र वन्य सम्पदाको बयान गर्दै  पुर्खाका वीरगाथा अनि स्वाभिमानका गौरव भावहरु छन् l
पूर्वको रमणीय पहाडी जिल्ला इलामको सदरमुकाम इलाम बजारमा पिता गणेश बहादुर श्रेष्ठ र माता खिन कुमारी श्रेष्ठको परिवारमा जन्मिएका गीतकार ईश्वर श्रेष्ठ स्कुले जीवनमा खेलकुदमा बढी रुची राख्थे l फुटबलमा उनको विशेष सक्रियता थियो l जिल्लास्तरीय खेलमा उनको टिम दोस्रो सम्म भएको थियो l खेलकुदका अतिरिक्त कला, सङ्गीत र साहित्यमा पनि उत्तिकै रुची राख्ने ईश्वर त्योबेला धेरैजसो कविता लेख्थे l त्यो समयमा उनी स्थानीय सुनगाभा क्लवमा आवद्ध थिए l जहाँबाट झ्याउरे नाच, रोपाईं जात्रा जस्ता साँस्कृतिक गतिविधिहरु हुन्थे l जसबाट उनमा संगीतप्रतिको आकर्षण बढेको थियो l एस.एल.सी. पछि काठमाडौँ आएका ईश्वरले आई.एड. र बि.कम. सम्मको पढाई पूरा गरे भने ०३७ सालबाट उनी सरकारी सेवामा आवद्ध भएका हुन् l शालीनता र इमान्दारिताले गर्दा प्रशासनिक क्षेत्रमा सबैले उनलाई सम्मानित दृष्टिले मात्र हेर्दैनन् कतै नबिझाउने व्यक्तिको रुपमा समेत उनी सबैको प्रिय छन् l आफ्नी अर्धांगिनी चम्पा श्रेष्ठ, छोरीहरु डा. ईशा र उपमाको समेत सपोर्ट र हौसलाले गर्दा एल्बम प्रकाशनमा  सफलता मिलेको उनी बताउँछन् l गीतकार ईश्वर भन्छन्-‘पहिला कापीका पानामा भएका गीत रेकर्ड भएर आउँदा शब्दहरु जीवित भएझैं, कोठाभित्र थुनिएका प्राणीलाई खुला आकाशमा छाडेझैं लागिरहेको छ l यो कर्मलाई भविष्यमा पनि निरन्तरता दिने सोचमा छु l’