गीतकार हरिराम महर्जन [ठेचो] को एकल शब्दरचना र जुगल डंगोलको एकल सङ्गीत तथा सङ्गीत संयोजन रहेको राष्ट्रिय गीतहरुको एल्बम ‘मेरो माटो’ बजारमा आएको छ l केही हप्ता अघि जमलस्थित राष्ट्रिय नाचघरको हलमा संस्कृतिविद् शताव्दीपुरुष सत्यमोहन जोशी, जनकवि-गीतकार दुर्गालाल श्रेष्ठ, अग्रज गायक-सङ्गीतकार प्रेमध्वज प्रधान, वरिष्ठ गायिका सङ्गीता प्रधान राणा र सङ्गीतकार राजु सिंहले एल्बम संयुक्त रुपमा लोकार्पण गरेका थिए l समारोहमा ठेचोबाट गीतकारका आफन्त, साथीभाइ र शुभचिन्तकहरुको उल्लेख्य उपस्थिति रहेको थियो भने नाचघरको हलमा धेरै दर्शकहरुले बस्ने सिट पाइरहेका थिएनन् l एल्बम विमोचन समारोहमा यति ठूलो उपस्थिति सम्भवत: यो पहिलो थियो l
‘मेरो माटो’ एल्बममा ‘आमा, मेरो माटो, हिमाल बोक्ने काँधहरु, अग्ला अग्ला हिमाल, लेक बेंसी सबै, होशियार खबरदार, जाति धर्मको कित्ता छोडौं र मेरो प्यारो ठेचो गाउँ’ गरी ८ वटा गीत रहेका छन् l जसमा एकल, युगल र सामूहिक स्वरका गीत समावेश गरिएको छ भने एउटा सामूहिक गीतमा १४ जना कलाकारको स्वर समेटिएको छ l एल्बममा मनोजराज, प्रेमध्वज प्रधान, सङ्गीता प्रधान राना, अमरराज शर्मा, उत्तम महर्जन, सुरेन्द्र महर्जन, हरिराम महर्जन, रत्नशोभा महर्जन, दीपा महर्जन, रामकृष्ण दुवाल, रामेश श्रेष्ठ, पारस नेपाल, केशव पौडेल, केन्जुमा सुब्बा, रोजी डंगोल श्रेष्ठ, कृष्णभक्त महर्जन, नवीन थेच्वमि, बाबुराम महर्जन, नन्दगोविन्द महर्जन, जितेन्द्र महर्जन, देवकुमारी महर्जन र उत्तम महर्जनका स्वर सुन्न सकिन्छ l एल्बम विन्ध्यबासिनी म्युजिकले बजारमा ल्याएको हो l
हठी, स्पष्टवक्ता, समाजसेवी र शुद्ध आचरण भएका व्यक्तिको रुपमा परिचित हरिराम महर्जन स्कुल पढ्दैदेखि गीत-कविता लेख्ने गर्दथे l उनी स्कुलका कार्यक्रमहरुमा कविता पनि पाठ गर्थे l युवा उमेरमा अत्यन्तै उर्जाशील र कला-संस्कृतिप्रेमी हरिराम नाटक लेख्ने र साथीहरु जम्मा गरेर मन्चन समेत गर्ने गर्दथे l उनी गाउथे-नाच्थे र अभिनय पनि गर्दथे l पहिला मङ्का खलः मा रहेका हरिराम पछि स्थानीय ‘इन्द्रेणी साँस्कृतिक समूह’ मा आवद्ध भए l चाप्लुसी गरेर बोल्न नजान्ने र अन्याय नसहने स्वभाव उनमा सानैदेखि थियो l विद्रोही स्वभावका तर दयालु हरिरामलाई भित्रैबाट चिन्नेहरुले उनलाई धेरै माया पनि गर्दथे l ‘सानैदेखि लेखेका कविता जोगाएर राखेको थिएँ, एउटा पुस्तक निकाल्ने धोको थियो l मावोवादी द्वन्द्वकालमा मलाई अफ्ठेरो पर्ला भनेर म नभएको बेला परिवारका मान्छेहरुले सबै जलाइदिनुभएछ’ उनले खिन्नता प्रकट गरे l ‘म राजनीतिक क्षेत्रको मान्छे, ९ कक्षा देखि नै राजनीतिमा लागेको थिएँ l विद्यार्थी युनियनमा जिल्ला कमिटी सम्म काम गरें l त्यो बेला भूमिगत बसेर काम गरिन्थ्यो l ०६२-०६३ मा २४ दिन थुनामा पनि परें l जुन अपेक्षा राखेर राजनीतिमा लागेको थिएँ पार्टी र नेतामा त्यस्तो केही भेटिन l निम्न स्तरका गरिवहरुको दुखः झन् झन् बढिरहेको छ, विदेशमा पनि असाध्ये पीडा भएका खबरहरु आइरहन्छन् l यस्तै कुराहरुले मन पोलेर यी गीतहरु लेखेको हुँ l एल्बममा मेरा कतिपय गीत घटनाप्रधान र यथार्थसंग नजिक पनि छन् भने कति गीत भावनामा बगेर पनि लेखेको छु’ उनले गीतका बारेमा स्पष्ट पारे l ‘पहिला मेरो गाउँ ठेचोमा स्कुल थिएन l थोरै शुल्कमा पनि गुणस्तरीय क्षिक्षा दिन सकिन्छ भनेर ०४७ सालमा अंग्रेजी मिडियमको निजी स्कुल खोलियो l अहिले त्यो स्कुल ललितपुरमै दोस्रो स्थानमा छ l’ ठेचोका पहिलो निजी स्कुलका संस्थापक हरिरामले विगत सम्झंदै भने l उनी ०५४ मा गाबिस अध्यक्ष चुनिएका थिए l कार्यकाल सकिने बेलामा उनकै पहलमा गाउँमा सरकारी प्रा.बि. पनि खोलिएको थियो l ५ वर्षे कार्यकालमा उनले ठेचोको उन्नतिका लागि धेरै काम गरेका छन् l ‘ठेचो एम्बुलेन्स सेवा समिति’ का संस्थापक अध्यक्ष समेत रहेका हरिरामले इमानको राजनीति गरेका कारण उनी संधै भ्रष्टहरुको आँखाको तारो बनिरहे l तथापि विकाशप्रेमी जनताहरुको साथ र मायाले गर्दा अकुत पैसा थुपार्न नसकेकोमा उनले कहिल्ये पश्चाताप गरेनन् l आज ठेचोमा उनलाई जुन माया, आदर र सम्मान मिलेको छ त्यसलाई कसैको अकुत पैसासंग तुलना गर्न पक्कै पनि सकिन्न l
‘मेरो माटो’ का एकल सङ्गीतकार -सङ्गीत संयोजक जुगल डंगोल हरिरामका बालसखा हुन् l उनै जुगलको साथ र हौसलाले गर्दा नै यो एल्बमले मूर्त रुप पाएको हो l यतिबेला हरिराम आफ्नो समुदायको जन्मदेखि मृत्यु सम्मका र संस्कृति-चाडपर्व विशेष संस्कारको अध्ययन-अनुसन्धान र सङ्कलन गरिरहेका छन् l यी विषयमा छिट्टै पुस्तक निकाल्ने योजनामा छन् उनी l ‘ कल्चरका विषयमा नयाँ र पुराना पुस्ताबीच द्वन्द्व छ l यसलाई जोगाउन जरुरी देखेर नै खोजिरहेको छु l यो मेरो ६ बर्ष देखिको प्रयास हो’ उनी भन्छन् l
गीति एल्बम ‘मेरो माटो’ मा नेपाली हुनुको गौरव, देशप्रतिको प्रेम र एकताका सन्देशहरु छरिएका छन् l गीतमा प्राकृतिक सुन्दरताका वयानहरु, जातीय-धार्मिक-साँस्कृतिक अनि भाषिक विविधताभित्रका सौन्दर्यहरुको महक पोखिएका छन् l कतै युवावर्गलाई कर्मशील-उर्जाशील हुन आह्वान गर्दै उत्साह र आत्मविश्वासको विगुल फुकिएको छ भने कतै भ्रष्टहरुलाई कुनैदिन जनताले हिसाब माग्नेछन्, नकाव उत्रिने छ भनि खबरदारी गरिएको छ l गीतमा एकताका सन्देशहरु छन्, विकाशप्रेमी भावनाहरु छन् अनि आफ्नो माटोलाई ‘आमा’ को स्थानमा राखिएका हृदयस्पर्शी देशभक्तिका भावहरु छन् l कृतिको दृष्टिकोणले हरिराम सङ्गीत क्षेत्रको लागि नयाँ नाम भएपनि उनका रचनात्मक शिल्प र अभिव्यक्त भाव भने प्रशंसनीय छन् l गीत समय सापेक्ष, यथार्थपरक र उद्देश्यमूलक छन् l भविष्यमा उनीबाट अझ राम्रा राम्रा गीत नेपाली सङ्गीत भण्डारले पाउने अपेक्षा गर्न सकिन्छ l














