बाबा आमाको महिमा बयान गर्दै गीतकार नारायण खतिवडा

-तुलसी गिरी ‘भावुक’

सुप्रसिद्ध गीतकार नारायण खतिवडाको फरक भावको गीत ‘आमा बाबा’ सार्वजनिक भएको छ । बजारमा आईरहने आम गीत भन्दा भिन्न भाव र सन्देश बोकेर आएको यस गीतले बाबा र आमाको महिमा बयान गरेको छ । सङ्गीतरत्न शम्भुजीत बासकोटाको सङ्गीत तथा राष्ट्रिय-अन्तर्राष्ट्रिय ख्यातिप्राप्त लोकप्रिय गायक राजेशपायल राईको सुमधुर स्वरमा रहेको यो गीत सङ्गीतकार बासकोटाकै युट्युब च्यानल Shambhujeet 7 Notes बाट विश्वव्यापी डिजिटल बजारमा आएको हो ।

व्यावसायिक एवं सस्तामस्ता भन्दा फरक भाव, गहन, सन्देशमूलक र समाजपयोगी गीत रचना गरेर गीत-सङ्गीत क्षेत्रमा आफ्नो छुट्टै र विशिष्ट पहिचान स्थापित गरेका गीतकार खतिवडाको यस गीतले आमा र बाबाको महत्त्व, सन्तानप्रतिको ममता, जिम्मेवारी र भूमिका बराबरी हुन्छ भन्ने आशय पोख्दै ‘आमा पनि बाबै हुन् बाबा पनि आमै हुन्’ भनेको छ । गीतले हजार पिडा लुकाएर, सहेर पनि बाबा आमाले समान रुपमा छोराछोरीको लालनपालन र खुशीको लागि गर्ने निस्वार्थ त्यागको महिमा गहिरो ढङ्गमा व्यक्त गरेको छ ।